नुवाकोट , कार्तिक ७ – नुवाकोटको वेल्कोटगाविस- ५ को आरकोटे भिरमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन विदेशीसहित १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५० भन्दा बढी घाइते भएका छन् ।
काठमाडौंको माछापोखरीबाट शुक्रबार विहान ७ बजे रसुवाको स्याफ्रुबेंशीका लागि छुटेको बा २ ख २२६६ नम्वरको बस बिहान १० बजे पासाङ ल्हामुमार्गको बेल्कोट गाविस-५ आरबोटे भिरमा सडकदेखि एक सय पचास फिट तल खसेर दुर्घटना भएको हो ।
क्षमता भन्दा वढि यात्रु वोकेको पहाडि भू-बनोट र साँघुरो सडकमा बसको पत्ता भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तीन विदेशीसहित ७ को घटनास्थल र ७ जनाको राजधानी र त्रिशूली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
मृत्यु हुनेमा दुई इजरायली र एक स्पेनी नागरिक रहेका छन् । दुर्घटनामा निधन भएका हरुमध्ये नुवाकोट गेर्खू वेत्रावतीका १२ वर्षीया करिना श्रेष्ठ र दाङसिङ ४ का ३५ वर्षीया विमला तामाङ, ओखलढुंगाका ५४ वर्षीय बलवहादुर सुनुवार राई, नुवाकोटका १६ वर्षीय प्रशान्त न्यौपानेको सनाखत भएको छ ।
दुर्घटनाका घाइतेहरुको राजधानीस्थित ग्रीनसिटी, जनमैत्री, मेगा, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र त्रिशूली अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उपचार गराइरहेकाध्ये शुक्रबार साझ सम्म ४२ जना सम्पर्कमा आएका छन् । दुर्घटनास्थल काठमाडौंदेखि ४६ किलोमिटर उत्तर तर्फ रहेको छ ।
तिहारमा राजधानीबाट टिकाका लागि गाउँ फर्केका अधिकांश व्यक्तिहरुले दुर्घटनामा ज्यान गुमाएका छन् । दुर्घटना भएलगत्तै स्थानीयवासी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले घाइतेहरुको उद्दार गरेका थिए । घाइतेहरुको उपचारका लागि अस्पताल लैजान हेलिकोप्टर, एम्बुलेन्स र भाडाका सवारी साधनमा प्रयोगमा ल्याइएको थियो ।
कांग्रेस नुवाकोटले विज्ञप्ती प्रकाशित गरी दुर्घटनामा मृत्यु भएकाहरुप्रति समवेदना प्रकट गर्दै दुर्घटनाले पार्टीलाई स्तव्ध वनाएको उल्लेख गरेको छ । जिल्ला सभापति एवं सभासद् जगदीश्वर नरसिंह केसीद्वारा जारी बिज्ञप्तीमा घाइतेहरुको तत्काल उपचारका आवश्यक प्रबन्ध गर्न सरकारसँग माग गरिएको छ ।
– प्रकाश अधिकारी Ekantipur, Photo: Radio Devdaha

