डिभिजन थ्री क्रिकेट: नेपालको पहिलो जित, बर्मूडा ८ विकेटले पराजित

Share:

७ कात्तिक, क्वालालम्पुर । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपालले पहिलो जित हात पारेको छ । आज बर्मुडालाई ८ विकेटले हराएको हो ।आफ्नो पहिलो खेलमा युगाण्डासँग २० रनले पराजित भएको नेपालले दोस्रो खेलमा संयमित भएर खेल्यो ।

जितपछि कप्तान पारस खड्काले भनेका छन्-‘बलरहरुले राम्रो प्रदर्शन गरे, व्याट्सम्यानहरुले पनि आफ्नो जिम्मेवारी पूरा गरे । हाम्रो टीमको क्षमता भएकै यहि हो । यो प्रदर्शनलाई दोहोर्‍याउनुपर्छ हामीले ।’

cricket2

सेलोङ्गोर टर्फ क्लबमा बमूर्डाले दिएको १०१ रनको लक्ष्य नेपालले मात्र ११.१ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । राम्रो सुरुवात गरेको नेपालले २१ रन बनाउँदा पहिलो विकेटका रुपमा नरेश बुढायरलाई गुमाएको थियो । तर, नेपालको पारी सुवास खकुरेल र विनोद भण्डारीले सम्हाले । सुवास र विनोदले ५५ रनको साझेदारी गर्दै नेपालको जितको आधार तयार पारे । विनोद ४३ रनमा अविजित रहे । आक्रमक व्याटिङ गरेका विनोदले ३१ बलमा आठ चौका र एक छक्का हाने । सुवास ३० रनमा आउट भए । २२ बलको सामना गरेका उनले चार चौका र एक छक्का हानेका थिए ।

कप्तान पारस खड्का १४ रनमा अविजित रहे । सात बलको सामना गरेका उनले दुई चौका हानेका थिए ।यसअघि टस हारेर व्याटिङको निम्तो पाएको बर्मूडाले ४०.१ ओभरमा १०० रन जोड्दा सबै विकेट गुमाएको थियो । नेपाली बलरहरु हावी भएको खेलमा बर्मूडाका ७ जनाले दोहोरो अंक जोड्न सकेनन् । उसका लागि क्रिष्टेनले २८ रन जोडे ।

नेपालका अमृत भट्टराई, बसन्त रेग्मी र शक्ति गौचनले समान २/२ विकेट लिए भने सोमपाल कामी र सागर पुनले १/१ विकेट लिएका छन् । बिनोद म्यान अफ दि म्याच भएका छन् ।

man-of-di-match

बमूडाका लागि सुरुवाति चार व्याट्सम्यानले बाहेक कसैले दोहोरा अंक जोड्न सकेनन् ।जितसँगै डिफेन्डिङ च्याम्पियन नेपालको खातामा २ अंक छ । डिभिजन ३ का दुई शीर्ष टोली डिभिजन २ मा बढूवा हुनेछन् । नेपालले पर्सी सिंगापुरविरुद्ध आफ्नो तेस्रो खेल खेल्नेछ ।

photo: Onlinekhabar

कमेन्ट गर्नुहोस्
Share: