चितवन,कार्तिक १९ \ प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादीको घुर्कीले केही फरक नपर्ने र पूर्वनिर्धारित तालिकाअनुसार माघ ८ मै संविधान जारी हुने बताएका छन्।
चितवनबाट निर्वाचित कांग्रेसका सभासद्हरुको सम्मान कार्यक्रममा बोल्दै कोइरालाले भने, ‘संविधान तोकिएकै मितिमा आउँछ। प्रचण्डको घुर्कीले केही फरक पर्दैन।’ सहमति नभएपछि स्वभाकिक रुपमा संविधानअनुसारको प्रक्रियामा अघि बढ्नुपर्ने र त्यसमा एमाओवादीले अड्को थाप्नुको कुनै अर्थ नहुने बताए। राजनीतिक तहमा सहमतिको प्रयास अझै पनि जारी रहेको बताउँदै भने, ‘सहमतिको ढोका बन्द भएको छैन। संविधान बनाउने अर्को पनि बैधानिक बाटो छ । त्यसलाई एमाओवादीले पनि मान्नुपर्छ ।’
कोइरालाले अन्तराष्ट्रिय समुदायले माघ ८ मा नेपालमा संविधान आउँछ भनेर प्रतिक्षा गरिरहेको र सिंगो मुलुक पनि त्यही आसामा रहेकोले माघ ८ मा संविधान जारी गर्नुको विकल्प नरहेको बताए। उनले भने, ‘तपाईहरु ढुक्क हुनुस् । माघ ८ मा संविधान आउँछ । अनि मुलुक समृद्धिको बाटोमा लम्किन्छ ।’

