रञ्जन अधिकारी पोखरा, २२ कार्तिक / कास्कीको पुम्दीभुम्दी १ अनदुडाँडा, मिनथुम्कि स्थित विश्व शान्ति स्तुपको १५ औं वार्षिकोत्सवको अवसरमा शनिबार विशेष पूजा सम्पन्न भएको छ । प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, भारतको उडिसा भुवनेश्वरबाट आएका प्रमुख भिक्षु योदा सोनी, धर्मशिला बुद्ध विहार पोखराका भिक्षु श्रद्धानन्द लगायतले सामूहिक रुपमा दीप बालेर पूजा शुभारम्भ गरेका थिए ।
निप्पोन जान म्योहोजीका भिक्षुहरुले परम्परागत विधिबाट पूजा गरे भने थेरबादी परम्पराबाट भिक्षुसंघबाट पञ्चशील र पूजाआजा भयो । पोखरामा रहेका विभिन्न गुम्बाका लामाहरुले महायानी पूजा गरे । पूजा शुभारम्भका अवसरमा बोल्ने वक्ताहरुले पोखराको पर्यटकीय धरोहर यस स्तुपको संरक्षण सम्बद्र्धनका लागि सबै जुट्नुपर्ने बताए । प्रमुख अतिथि राउतले पुम्दीभुम्दी र समग्र पोखराकै पर्यटन विकासका लागि महत्वपूर्ण स्थान भएकाले संरक्षण सम्बद्र्धनका लागि सरकारसँगै पोखरेली जुट्नुपर्ने बताए ।
प्रमुख भिक्षु योदा सोनीले फुजिई गुरुको अठोट अनुसार अति महत्वपूर्ण ठाउँमा यो स्तुप निर्माण भएको भन्दै खुशी व्यक्त गरे । स्थानीयको तर्फबाट पुम्दीभुम्दी १ नागरिक मञ्चका अध्यक्ष विष्णुहरि बरालले पुम्दीभुम्दीकै चिनारी भएकाले स्तुपा संरक्षणमा गाउँबासी लाग्नुपर्नेमा जोड दिए । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले पोखराको पर्यटकीय केन्द्र भएकाले यसको संरक्षणका लागि संस्थागत तथा व्यक्तिगत सहयोग गर्ने प्रतिबद्धता जनाए । बुद्ध जयन्ती मूल समारोह समितिका कार्यवाहक अध्यक्ष नरेन्द्र लालचन लगायतले बोलेका थिए ।
सो अवसरमा विश्व शान्ति स्तुप अक्षयकोष दाताहरु कुलबहादुर गुरुङ सिम्पानी, कुलामान बुद्धाचार्य मोहोरियाटोल, ठाकुर अधिकारी र कृष्ण पौडेल सगरमाथा टेण्ट हाउस, लायन सन्तोष कुमार श्रेष्ठ सभागृह र टंकमान बुद्धाचार्य न्यूरोडलाई सम्मान गरिएको थियो । भदौ ८ गतेको पहिरोमा परी ज्यान गुमाएका तीन जना र एक वेपत्ताको सुगतिलाभको कामना गर्दै बुद्ध पूजा पनि गरियो ।
विश्व शान्ति स्तुप समिति अध्यक्ष प्रकाशमान गुभाजुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव उत्तममान बुद्धाचार्यले गरेका थिए भने सदस्य खेमराज पौडेलल स्वागत तथा स्तुपाका भिक्षु माकुतो साकाइले धन्यवाद ज्ञापन गरेका थिए ।
पोखराको मनमोहक दृश्य अवलोकनका लागि प्रख्यात यो स्तुप गत भदौ ८ गते गएको पहिरोले जोखिममा रहेको छ । विश्व शान्ति स्तुप समितिका सचिव उत्तममान बुद्धाचार्यका अनुसार स्तुप संरक्षणका लागि सरकारले १० लाख प्रदान गर्ने प्रतिबद्धता गरेपनि सिंचाईमन्त्री एनपी साउदको भ्रमणपछि थप सहयोग मिल्ने अपेक्षा गरिएको छ । मन्त्री साउदको निर्देशनमा प्राविधिक टोलीको निरीक्षणपछि एक हप्तामै प्रतिवेदन आउने र त्यसै अनुसार काम हुने उनले बताए । स्तुप पहिरोको जोखिममा परेपछि पोखरामा सुरु भएको आर्थिक संकलन कार्य जारी छ । विश्व शान्ति स्तुप संरक्षण परियोजनाका कोषाध्यक्ष शंकर गुरुङका अनुसार पहिरो रोकथामका लागि हालसम्म विभिन्न वित्तिय संघसंस्था, बौद्ध संघसंस्था, पर्यटन तथा उद्योगी व्यवसायीहरुबा १५ लाख ७७ हजार पाँच सय १५ संकलन भएको छ । पोखरा पर्यटन परिषद् अन्तर्गत पाँच लाख दुई हजार छ सय ४८ संकलन भएको संयोजक गणेशबहादुर भट्टराईले जनाए । लायन्स क्लबहरुले पनि एक लाख ५७ हजार छ सय ५६ रुपैंया संकलन गरिसकेका छन् ।
स्तुप निर्माणका लागि वि.सं. २०३० साल भदौ २७ मा निप्पोन जान म्योहोजीका गुरु निचिदात्सु फुजिईले शिलान्यास गरे थिए र सोहि वर्षको मंसीर १३ गते स्तुपको प्रार्थना गृहमा सिद्धार्थको जन्ममूर्ति राखिएको थियो तर निर्माणकै क्रममा ३५ फिट उचाई भएपछि तत्कालिन पञ्चायती सरकारले बुद्ध जन्मस्थलमै बुद्धको गुम्बा बनाउन नदिएर नगरयोजनाको कारण देखाउँदै भत्काईदियो । त्यसपछि १५ वर्ष हालको शान्ति स्तुप पुनर्निमाण भएको हो । गुरु फुजिईले दोस्रो विश्वयुद्धपछि विश्व शान्तिको कामना गर्दै विश्वभर एक सय स्तुप निर्माण गर्ने संकल्प अनुसार नेपालमा बुद्धस्थल लुम्बिनी र पुम्दीभुम्दीमा स्तुप निर्माण गरेका हुन् । करीब साढे २ करोड लागतमा निर्मित स्तुपमा चार ठूला बुद्धका मूर्ति छन् । अग्रभागको धर्मचक्र प्रवर्तन मुद्राको मूर्ति जापानले, पश्चिम दिशाको ध्यान मुद्राको मूर्ति श्रीलंका, उत्तरस्थित महापरिनिर्वाण मूर्ति थाईल्याण्ड र दक्षिण दिशाको सिद्धार्थ जन्ममूर्ति नेपालमा नै निर्माण गरिएको हो । २० फिट उचाइ (१३ तला) मा रहेको सुनको जलप लगाईएको त्रयोदंश भुवनको प्रतिक स्फटिक गजुर श्रीलंकाबाट प्राप्त भएको हो । पर्यटकीय नगरी पोखराबाट करीब ८ किलोमिटर दक्षिण पश्चिममा रहेको एक सय १५ फिट उचाई र ३ सय ४४ फिट गोलाईको यो स्तुप करीब बाइस रोपनी क्षेत्रफलमा फैलिएको छ ।

