
रेम बिक पोखरा, २४ कार्तिक । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीको आयोजना तथा विग एफएम १०१.२ मेगाहर्जको प्रस्तुतिमा कार्तिक अन्तिम साता पोखरामा दोस्रो बृहत शैक्षिक मेला हुने भएको छ । आयोजकले सोमबार पत्रकार सम्मेलन गरी शैक्षिक मेलाको तयारी तीब्र रुपमा अघि बढेको जानकारी दिएको छ ।
कात्तिकको २८ गतेदेखि ३० गतेसम्म चल्ने बृहत शैक्षिक मेलालाई नेपाली फिल्म उद्योगका महानायक राजेश हमालले उद्घाटन गर्नेछन् । वैदेशिक अध्ययनका लागि जान चाहने विद्यार्थीलाई लक्षित गरी गत वर्ष आयोजना भएको मेला सफल भएकाले निरन्तरता दिएको ईक्यान कास्कीले जनाएको छ । मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाईएको छ ।
‘दक्षता अभिवृद्धिका लागि अहिलेको विद्यार्थी पुस्ता वैदेशिक अध्ययनमा जान लालायित छन् ।’ पत्रकार सम्मेलनमा ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीले भने– ‘त्यहि विद्यार्थी पुस्तालाई लक्षित गर्दै हामीले शैक्षिक मेलाको अवधारणा ल्याएका हौँ ।’ बृहत शैक्षिक मेलामा एकै स्थानमा विद्यार्थीहरुले धेरै परामर्शदाताहरुबाट जानकारी लिन पाउने भएकोले उनीहरुको लागि निकै फाईदाजनक रहेको उनले बताए ।
तीन दिनसम्म चल्ने बृहत शैक्षिक मेला पोखराको सभागृह हलमा हुने ईक्यान कास्कीका उपाध्यक्ष तथा मेला संयोजक डिबि गुरुङले जानकारी दिए । ‘अन्तराष्ट्रिय मापदण्डअनुसार अहिलेको विद्यार्थीपुस्ताले आफुलाई दक्ष बनाउन चाहन्छ र हरेक अभिभावकको पनि यस्तै चाहना छ ।’ उनले भने– ‘त्यसैले तीन दिनसम्म चल्ने मेलामा सहभागिता जनाएर वैदेशिक अध्ययनको लागि बुझ्न सबैलाई आग्रह गर्दछु ।’
ईक्यानका केन्द्रिय अध्यक्ष राजेन्द्र बराल समेत सोमबारको पत्रकार सम्मेलनमा उपस्थित थिए । पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाललाई शैक्षिक पर्यटनको क्षेत्रबाट विकास गर्ने लक्ष्यसहित ईक्यान लागिपरेको प्रस्ट्याए । उपयुक्त वातावरण तयार पारेर नेपालको विद्यार्थीलाई विदेश अध्ययन गर्न पठाउने नभई विदेशी विद्यार्थीलाई नेपाल पढ्न आउने वातावरण मिलाउन आफु र आफ्नो संस्थाले लबिङ गरिरहेको उनले सुनाए । साथै उनले पोखरामा हुन लागेको दोस्रो सँस्करणको बृहत शैक्षिक मेलाको सफलताको कामना समेत गरे ।
मेला स्थलमा ५६ वटा स्टल र ६ वटा पेभिलियनबाट शैक्षिक परामर्शदाताहरुले विद्यार्थीहरुलाई परामर्श दिने व्यवस्था गरिएको आयोजकले बताएका छन् । मेलामा भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगाएतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनीधिहरुको समेत सहभागिता रहने भएको छ ।
दोस्रो बृहत शैक्षिक मेलालाई विग एफएमले प्रस्तुत गरेको हो । मेलाको टाईटल स्पोन्सरको रुपमा ट्रिनीटि एजुकेशन फाउन्डेशन, सबटाईटल स्पोन्सरको रुपमा किङ्ग्स ईन्स्टिच्यूट रहेका छन् । मेलाको मेन स्पोन्सरको रुपमा ईम्पल्स ईन्टरनेशनल ईन्स्टिच्यूट प्रालि रहेको छ भने सपोर्टेड बाई टाईटलमा बिकन प्रिमियर ईन्टरनेशनल एजुकेशन प्रालि रहेको छ ।
मेलाको प्रायोजकहरुमा एक्सेल पोखरा एजुकेशन कन्सल्टेन्सी, डेल्टा एडुकेयर नेपाल प्रालि, मिराकल ईन्स्टिच्यूट प्रालि, साकुरा जापनीज ल्याङग्व्वेज ईन्स्टिच्यूट, एजुकेशनल स्टडी लिंक प्रालि, मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी, पोखरा थर्ड आई रिसर्च सेन्टर, अर्बिट ईन्टरनेशनल एजुकेशन, एजुकेशन पार्क र एक्सेस एजुकेशन नेटवर्क रहेका छन् । यस्तै, अफिसियल मिडियामा आदर्श समाज राष्ट्रिय दैनिक रहेको छ । तीन दिने मेलाको व्यवस्थापनको जिम्मा वान अप कम्यूनिकेशन प्रालिले लिएको छ । े


