लिम्बुवान राज्यको घोषणा गर्दै सशस्त्र संघर्ष

247
0
Share:
विराटनगर,कात्तिक २६/ अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान राज्य घोषणा गर्न माग गर्दै सशस्त्र संघर्ष सुरु भएको छ। किरात लिम्बुवान राष्ट्रिय परिषद नामक नयाँ पार्टीले सशस्त्र संघर्ष सुरु गरेको हो। यद्यपि प्रहरीले भने यो एउटा सानो अपराधिक झुन्ड मात्र भएको दाबी गरेको छ।
 limbuwan_651068927
मोरङको पथरीस्थित प्रहरी कार्यालय नजिकै गत बुधबार बम बिस्फोट गराइएपछि सशस्त्र पार्टीबारे खुलासा भएको हो। परिषदका मोरङ जिल्ला इञ्चार्ज मोरङ बयरवन- ८ का ३२ वर्षिय मान बहादुर माझीसहित दशजनालाई पक्राउ गरेको हो। प्रहरीले यो लुटपाट गर्ने अपराधिक झुन्डमात्र हो भनिरहँदा प्रहरी हिरासतमा रहेका माझीले भने,’ दुई वर्ष अघिबाट हामी भूमिगत भई संघर्ष गरिरहेका छौं।’
अन्य दलको आन्दोलन र संघर्षबाट लिम्बुवान सुनिश्चित हुने नदेखिएकोले लिम्बुवान प्राप्तिका सशस्त्र संघर्ष सुरु गरिएको बताउँदै माझीले भने,’अरुण पूर्वका ९ जिल्लालाई लिम्बुवान बनाउनु पर्छ। यसैका लागि हामीले भूमिगत सशस्त्र आन्दोलन गरेका हौं।
यो हाम्रो राजनीतिक लडाँइ हो। लुटपाट गर्ने उद्देश्य होइन्।’ माझीले आफ्नो पार्टीको मुख्य मानिस डाक्टर मासा विदेशमा रहेको र पृथ्वी लिम्बूले परिषदको नेतृत्व अध्यक्षका रुपमा निर्वाह गरेको बताए। आफूहरुको योजना धेरै भएको बताउँदै उनले भने,’ हेर्दै जानुस के के हुन्छ।’ आफूले दायाँ खुट्टा संकटकालका बेला गुमाएको पनि बताए।
माझीको अभिव्यक्ति विपरीत जिल्ला प्रहरी कार्यालय मोरङका एसपी ठूले राइले यो पार्टी नभएर अपराधिक समूह भएको दाबी गर्दै भने,’ बम पड्काउने, मानिसहरुलाई आतंकित पार्ने र लुटपाट गर्ने मात्र यिनीहरूको उद्देश्य रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। थप खोजबिन गरिरहेका छौं।’
कमेन्ट गर्नुहोस्
Share: