काठमाडौं,कात्तिक २६/ नेपाल वायुसेवा निगमको दोस्रो चिनियाँ जहाज वाई १२ ई ले आगामी मंसिर ४ गतेदेखि व्यावसायिक उडान सुरु गर्ने भएको छ। निगमले गत वैशाख १४ गते ल्याएको पहिलो अनुदानको जहाज एमए ६० पछि यही कात्तिक १७ गते दोस्रो जहाज काठमाडौं अवतरण गरेको छ।
अनुदानमै पाएको यो जहाज भित्रिएपछि निगमले खरिद गरेको एमए ६० एक र तीनवटा वाई १२ ई नामका जहाज पनि क्रमश: भित्र्याउँदै जाने बताएको छ। निगमले दुर्गम क्षेत्रको उडानका लागि ल्याएको १८ सिट क्षमताको यो जहाजले आगामी मंसिर २ गतेभित्रै सबै उड्डयनसम्बन्धी प्रक्रिया पूरा गर्ने जानकारी दिएको छ।
व्यावसायिक उडानमा लगाउन पूरा गर्नुपर्ने प्राविधिक एवं प्रशासनिक प्रक्रियापश्चात् यसलाई नियमित रूपमा उडान गरिनेछ। यो वाई १२ नामको दोस्रो चिनियाँ जहाजको उडान गर्ने पाइलटको टाइपरेटिङ, क्याबिन क्रुको टाइपरेटिङसहिको प्रक्रिया यही बुधबार नै पूरा हुने निगमले बताएको छ।
यसले बुधबार नै संकटकालीन उद्धार प्रदर्शनलगायत अन्य परीक्षण उडान सुरु गरी कात्तिक ३० गतेसम्ममा पूरा गर्ने जानकारी दिएको छ।
निगमले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेर मंसिर १ गते नागरिक उड्डयन प्राधिकरणमा उडान अनुमतिका लागि आवेदन दिने जानकारी दिएको छ। अनुमति प्राप्त हुनासाथ मंसिर ४ गतेबाट व्यावसायिक उडान सुरु गर्ने निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपालगन्जमा नियमति उडान सुरु
निगमले काठमाडौंबाट नेपालगन्जका लागि पनि नियमित उडान सुरु गरेको छ। निगमको आन्तरिक उडानको एमए ६० नामक ५६ सिट क्षमताको जहाजले मंगलबारबाट काठमाडौं-नेपालगन्ज उडान सुरु गरेको छ। यो जहाजले सोमबारबाट उडान सुरु गर्ने कार्यतालिका भए पनि प्राविधिक कारणले मंगलबारबाट मात्रै नेपालगन्जमा उडान सुरु भएको छ।
यो जहाजले अब हरेक साता नेपालगन्जका लागि तीनवटा उडान गर्ने निगमका प्रवत्ता सरोज कसजूले जानकारी दिए। सोमबार, बुधबार र शनिबार गरी सातामा तीनवटा उडान काठमाडौं-नेपाजन्ज-काठमाडौं उाडन गर्ने जानकारी निगमले दिएको छ। निगमको अब हरेक साता विराटनगरमा दैनिक एउटा, नेपालगन्ज तीन, धनगढी र भद्रपुर दुईदुईवटा उडान हुने भएको छ।
कमेन्ट गर्नुहोस्

