एसीसी यू-१९ प्रिमियर लिग: नेपालको लगातार तेस्रो जित

299
0
Share:

काठमाडौ, २६ कार्तिक  – एसीसी यू-१९ प्रिमियर लिगमा निर्णायक सावित हुने खेल अगाडि नेपाल र अफगानिस्तानले बुधबार दुई फरक जित निकाले । मलेसियाविरुद्ध नेपालको ब्याटिङ चम्कन सकेन, तर त्यसलाई बिर्साउँदै बलरले राम्रो खेले र टिमको पक्षमा रह्यो, ५३ रनको जित । कुवेत सिटीमा भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ४० ओभरमा अलआउट हुँदै १ सय १५ रनमात्र बनायो ।

यसअघिका दुई खेलमा तीन सय रनमाथिको स्कोर बनाएका नेपाली ब्याट्सम्यानले दबाबमा खेले । तर मलेसियाको ब्याटिङ पनि उत्तिकै खराब रह्यो र पूरा टिमले ३०.४ ओभरमा सबै विकेट गुमाउन अगाडि ६२ रन मात्र बनाउन सक्यो । अफगानिस्तानले लगातार तेस्रोपल्ट विस्फोटक ब्याटिङ गर्दै साउदी अरेबियालाई २ सय ७७ रनले हरायो ।

nepaliteam_20141112040421त्यसमा अफगानिस्तानले पहिले ब्याटिङ गर्दै ३ सय २६ रन बनाएको थियो भने जवाफमा साउदी टिम ४९ रनमै समेटियो । छ टिम सम्मिलित प्रतियोगिता राउन्ड रोविनका आधारमा चलिरहेको छ । नेपाल र अफगानिस्तान दुवैको समान ६-६ अंक छ । अफगानिस्तान राम्रो नेट रनरेटमा शीर्ष स्थानमा छ । नेपाल र अफगानिस्तानबीचको खेल शुक्रबार हुनेछ ।

प्रतियोगिताको फाइनल नहुने स्थितिमा त्यो खेलले नै विजेता र उपविजेता निर्णय गर्ने निश्चित छ । त्यसको विजेताले दुई वर्षपछि बंगलादेशमा हुने यू-१९ विश्वकप खेल्नेछ भने दोस्रो हुनेले प्ले-अफ चरणबाट गुजि्रनुपर्नेछ । मलेसियाविरुद्धको खेलमा नेपालले जितभन्दा फरक नतिजा बेहोरेको भए शुक्रबारको खेल निणर्ायक हुने सम्भावना कम हुन सक्थ्यो ।

मलेसियाविरुद्ध पहिलो विकेटका लागि ३३ रनको साझेदारी भए पनि त्यसयता नेपालले नियमित विकेट गुमाएको थियो । राजु रिजालले ३९ रन जोडे र खेलमै सर्वाधिक रन बनाउने ब्याट्सम्यान रहे । लो स्कोरिङ खेलमा उनी नै निर्विवाद ‘म्यान अफ द म्याच’ रहे । त्यस अगाडि इनिङ्स सुरुआत गरेका सुनील धमलाले १९ र प्रेम तामाङले १६ रन बनाएका थिए ।

तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् । मलेसियाको इनिङ्समा छ ब्याट्सम्यान शून्यमा आउट भए । अनवर रहमानले मात्र दोहोरो अंक छोए । उनको ब्याट्बाट ३३ रन निस्केको थियो । त्यसबाहेक नेपालले १४ अतिरिक्त रन दिएको थियो । नेपाली बलरमध्ये अर्जुन चापागाईंले १४ रनमा तीन विकेट लिए । सुशील कँडेल र सौरभ खनालले दुई/दुई विकेट लिए ।

कमेन्ट गर्नुहोस्
Share: