रञ्जन अधिकारी पोखरा, २९ कात्तिक । पोखरा सभागृहमा जारी दोस्रो ईक्यान वृहत शैक्षिक मेलामा विद्यार्थीको घुईंचो बढेको छ । दोस्रो दिनको समाप्तिसम्म गत वर्षको तुलनामा अत्यधिक युवाहरु वैदेशिक अध्ययन परामर्शका लागि आएको आयोजक ईक्यान कास्कीले जानकारी दिएको छ । शनिबारको दिन बिदा परेकाले पनि विद्यार्थीहरुको उपस्थिति बढेको हो ।
मेला प्रवेशका लागि निःशुल्क व्यवस्था भएकाले कतिको संख्यामा विद्यार्थी आए भनेर थाहा नभएपनि पहिलो संस्करण भन्दा यस वर्ष धेरै विद्यार्थीले चासो देखाएको मेला संयोजक डिबि गुरुङले जानकारी दिए । ‘हामीले मेला प्रवेशका लागि निःशुल्क व्यवस्था मिलाएकाले ठ्याक्कै कतिको संख्यामा आए भनेर भन्ने स्थिति चाहिँ भएन ।’ गुरुङले भने – ‘तर धेरै युवाहरु आउनुभएको छ । मेला सफल भएको महसुस गरिसकेका छौं ।’
ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीले घुम्ने भन्दा पनि जानकारी लिनकै लागि आउने विद्यार्थीहरु भएकाले मेला प्रभावकारी बनेको महसुस भएको प्रतिक्रिया दिए । ‘क्वालिटी विद्यार्थीहरु आएका छन् । शुक्रबार र शनिबार दिनभर मेलाका हरेक स्टल व्यस्त बनेको अवस्था हो ।’ भण्डारीले भने ‘अब अन्तिम दिन भएकाले आईतबार झन् उपस्थिति बढ्ने अपेक्षा छ ।’
नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीको आयोजना तथा बिग एफएम १०१.२ मेगाहर्जको प्रस्तुतिमा शुक्रबारदेखि पोखरामा सुरु भएको दोस्रो बृहत शैक्षिक मेला आईतबार समापन हुँदैछ । मेलाको नेपाली फिल्म उद्योगका महानायक राजेश हमाल र उनकी धर्मपत्नी मधु भट्टराईले शुक्रबार संयुक्त रुपमा उद्घाटन गरेका थिए । मेला स्थलमा ५६ वटा स्टल र ६ वटा पेभिलियनबाट शैक्षिक परामर्शदाताहरुले विद्यार्थीहरुलाई परामर्श दिने व्यवस्था गरिएको छ । मेलामा भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगाएतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको समेत सहभागिता रहेको आयोजकले जनाएको छ ।
मेलाको टाईटल स्पोन्सरको रुपमा ट्रिनीटि एजुकेशन फाउन्डेशन, सबटाईटल स्पोन्सरको रुपमा किङ्ग्स ईन्स्टिच्यूट रहेका छन् । मेलाको मेन स्पोन्सरको रुपमा ईम्पल्स ईन्टरनेशनल ईन्स्टिच्यूट प्रालि रहेको छ भने सपोर्टेड बाई टाईटलमा बिकन प्रिमियर ईन्टरनेशनल एजुकेशन प्रालि रहेको छ ।

मेलाको प्रायोजकहरुमा एक्सेल पोखरा एजुकेशन कन्सल्टेन्सी, डेल्टा एडुकेयर नेपाल प्रालि, मिराकल ईन्स्टिच्यूट प्रालि, साकुरा जापनीज ल्याङग्व्वेज ईन्स्टिच्यूट, एजुकेशनल स्टडी लिंक प्रालि, मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी, पोखरा थर्ड आई रिसर्च सेन्टर, अर्बिट ईन्टरनेशनल एजुकेशन, एजुकेशन पार्क र एक्सेस एजुकेशन नेटवर्क रहेका छन् । यस्तै, अफिसियल मिडियामा आदर्श समाज राष्ट्रिय दैनिक रहेको छ । तीन दिने मेलाको व्यवस्थापनको जिम्मा वान अप कम्यूनिकेशन प्रालिले लिएको छ ।


