यू-१९ प्रिमियर क्रिकेट: यूएईलाई हराउँदै नेपाल बन्यो उपविजेता, अफगान तेस्रो पटक च्याम्पियन

454
0
Share:

२९ कात्तिक, काठमाडौं । नेपाल एसीसी यू १९ प्रिमियर क्रिकेटको उपविजेता बनेको छ । अफगानिस्तानले उपाधि जितेको छ । कुवेतलाई २०६ रनले हराउँदै अफगानिस्तानले उपाधि रक्षा मात्र गरेन्,  २०१६ मा बंगलादेशमा हुने यू-१९ विश्वकपमा स्थान समेत बनाएको छ ।

शनिबार भएको आफ्नो अन्तिम खेलमा यूएईलाई ९४ रनले पराजित गर्दै नेपाल उपविजेता बनेको  । यससँगै विश्वकप खेल्ने सम्भावना कायमै राखेको छ । नेपालले प्रस्तुत गरेको २५१ रनको लक्ष्य पछ्याएको यूएई ४४.३ ओभरमा १५६ रन जोड्दा अलआउट भयो । उसका लागि वरुना परेराले ५७ र कार्तिक शेखर ५२ रन बनाए पनि अन्य व्याट्सम्यान चलेनन् । उसलाई सस्तैमा समेट्ने क्रममा दिपेन्द्र ऐरीले १९ रन खर्चिएर ३ विकेट हात पारे । इर्शाद अहमदले २ विकेट लिए भने शौरभ खनाल, आरिफ शेख, सुशील कँडेल र सुनिल धमलाले एक-एक विकेट लिए ।

Afgan-cric-team

यसअघि कुवेत सिटीको टाकटेक मैदानमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५० रन बनायो । खाता नखोल्दै पहिलो विकेटका रुपमा ओपनर सुनिल धमलालाई गुमाएको नेपालले त्यसपछि सम्हालिएर व्याटिङ गर्यो । सन्दिप सुनार र आरिफ शेखले दोस्रो विकेछका लागि ५२ रनको साझेदारी गरे । शंकर १८ रनमा आउट भए । तेस्रो विकेटका लागि आरिफले शंकर रानासँग ८३ रनको साझेदारी गरे । आरिफले ६० रन बनाए । ८६ बलको सामना गरेका उनले चार चौका र एक छक्का हाने । चौथो विकेटका रुपमा आउट भएका शंकर रानाले ४८ रन बनाए । प्रेम तामाङले ४८ बलमा चार चौकासहित ४६ रन बनाए । नावौं नम्बरमा व्याटिङ गर्न आएका यागेन्द्र कार्कीले २८ बलमा चार चौकासहित अविजित ३५ रन बनाए ।

अफगान तेस्रो पटक च्याम्पियन

नेपाललाई हराएसँगै अफगानिस्तानले उपाधि जित्ने पक्का जस्तो भएको थियो । उसले अन्तिम खेलमा कुवेतलाई २०६ रनले हराउँदै विश्वकपमा स्थान बनायो । पहिले व्याटिङ गरेको अफगानिस्तानले ४७.४ ओभरमा सबै विकेट गुमाएर २७१ रन बनायो । उसका लागि इशानल्लाले ८९ रन बनाए भने जुमा गुलले ७१ रन जोडे ।

जवाफमा मैदान उत्रिएको कुवेत १९.५ ओभरमा ६५ रन जोड्दा अलआउट भयो । उसलाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका नविन उलहकले चार विकेट लिए भने मोहम्मद जहिर र जिया उर रहमानले ३/३ विकेट लिए । अफगानिस्तानले यू-१९ एलिट कपको उपाधि तेस्रो पटक जितेको हो । उसले २०११ र २०१३ मा उपाधि जितेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: