सगरमाथा चुम्ने अभियानमा एचआईभी संक्रमित श्रेष्ठ

839
0
Share:

रञ्जन अधिकारी,पोखरा ३० कार्तिक / एचआईभी संक्रमितहरु समाजमा अझै सार्वजनिक हुन सकिरहेका छैनन्, कारण एउटै हो समाजमा अपहेलित हुने डर । अझै पनि समुदायमा एचआईभी संक्रमितहरुलाई हेर्ने नजर सकारात्मक छैन । जसरी एचआईभी लागुन्, धेरैले यौन आशक्तिले नै रोग लाग्यो भनेर छिःछिः गर्ने गरेको पीडितहरुको गुनासो छ । यौन व्यवसायीसँग असुरक्षित सम्पर्कका साथै सुई साटासाट गरी लागूपद्धार्थ प्रयोगले पनि अधिक मात्रामा एचआईभी संक्रमण भएको पाईन्छ । छिमेकी मुलुक भारत लगायत अन्य मुलुकमा रहँदा संक्रमितहरुसँग यौन सम्पर्कपछि यो रोग बोकेर फर्कनेहरु पनि छन् र उनीहरुमार्फत नै निर्दोष जहान र छोराछोरी संक्रमित भएको संख्या पनि अधिक छ । नेपालमा मात्रै ७५ हजारको हाराहारीमा एचआईभी संक्रमित रहेको तथ्यांक छ । विश्वमा १९८१ देखि २०१३ सम्ममा ३६ मिलियन व्यक्तिले यही रोगका कारण ज्यान गुमाईसकेका छन् । विस्तारै संक्रमितहरु सार्वजनिक हुँदै यही क्षेत्रमा क्रियाशील छन् । उदाहरणका लागि, कास्कीमै आँकुरा सञ्चालन गर्दै आएकी अभियन्ता लक्ष्मी अधिकारीलाई लिन सकिन्छ ।

पोखराका अर्का युवा गोपाल श्रेष्ठको उद्देश्य फराकिलो छ । उनी सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्वकै पहिलो एचआईभी संक्रमित आरोही बन्ने अभियानमा छन् । समाजमा अझै व्याप्त भ्रम छ, एड्स लागे त चाँडै नै मरिहाल्छ । तर, श्रेष्ठ एचआईभी संक्रमित भएकै २० वर्ष पुग्न लाग्यो । खानपान, जीवनशैलीलाई ध्यान दिए एड्स भएकाहरु पनि धेरै समय बाँच्न सक्छन् भन्ने नमूना मात्र उनी बनेका छैनन्, मिडिया मार्फत समाजलाई एचआईभी÷एड्सबारे पनि बुझाईरहेका छन् । लागूपद्धार्थमा फसेसँगै सुई साटफेर गर्दा एचआईभी संक्रमित भएका श्रेष्ठ विगत दश वर्षदेखि लागूऔषध दुव्र्यसनका क्षेत्रमा पनि सक्रिय छन् ।

Gopal Sth

गोपाल श्रेष्ठले एक वर्ष अघि मात्रै ६००० मिटर भन्दा अग्लो आईसल्याण्ड पिकको सफल आरोहण गरिसके । ‘सगरमाथा चढ्न म मेन्टल्ली तयार भईसकेको छु । अब चार महिनाभित्र सगरमाथा चढ्ने लक्ष्य हो ।’ उनले भने– ‘अबको काम नै आर्थिक संकलन हो, सबै सहृदयी पोखरेलीको साथ मिल्नेमा आशावादी छु ।’ सगरमाथा आरोहण गर्न आवश्यक ३५÷४० लाख जुटाउनु नै अबको लक्ष्य रहेको उनी सुनाउँछन् ।

उनको सगरमाथा चढ्ने अभियानलाई स्थानीय प्रशासनको समेत साथ मिलेको छ । जिल्ला विकास समिति कास्की र जिल्ला एड्स समन्वय समिति कास्कीलाई साथ लिएर गोपाल श्रेष्ठ सगरमाथा आरोहण सहयोग समितिले सगरमाथा चढ्ने अभियानलाई सफल पार्न सहयोग संकलन कार्य सुरु गरेको छ । यसै क्रममा आईतबार यी तीन संस्थाको संयुक्त आयोजनामा वृहत छलफल गरियो ।

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक ंदिनेश थपलियाले स्थानीय तबरमा गरिएको यो प्रयास सराहनीय भएको भन्दै आफूले गर्न सक्ने सहयोगका लागि तयार भएको बताए । ‘म अहिले नै पर्यटन विभाग, सचिवहरुसँग सहयोगका लागि छलफल गर्न तयार छु ।’ उनले भने यो साहसिक काम हो, चूनौति पनि उत्तिकै छ । हाम्रो सानो सहयोगले ठूलो उपलब्धि हासिल हुन्छ भने किन पछि हट्ने ?’ थपलियाले एचआईभी पीडितलाई हेर्ने दृष्टिकोण सकारात्मक बन्दै गएको भन्दै एउटा बोलेर अर्को गर्नेहरुको भिड लाग्ने यो समाजमा जे हो, त्यही भन्नेलाई घृणा होईन सम्मान गर्नुपर्ने बताए ।

‘सगरमाथा धेरैले चढेका छन् तर गोपाल श्रेष्ठको यो अभियानले समग्र समुदायलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन आउने भएकाले सहयोग गर्नुपर्छ ।’ उनले भने– ‘पैसा नभएरै यो महा अभियान रोकिनु हुँदैन ।’

कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले एचआईभि संक्रमित श्रेष्ठले जुन उद्देश्य लिएर सगरमाथा आरोहण गर्दैछन्, नेपाल सरकारको उद्देश्य पनि उनीहरुलाई हेर्ने नजर सकारात्मक बनाउने, संक्रमितहरुलाई हौसला प्रदान गर्ने, एचआईभीबाट बच्नका लागि जनचेतना फैलाउने रहेकाले उनको अभियानमा हातेमालो गरेको बताए । ‘यो विश्वव्यापी समस्याका रुपमा देखा परिसक्यो । श्रेष्ठको माध्यमद्वारा अन्तर्राष्ट्रिय शहर पोखराबाट सचेतना फैलन्छ भन्ने हाम्रो अपेक्षा हो ।’ अधिकारीले भने ।

एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष तथा जिल्ला एड्स समन्वय समितिका संयोजक विश्वमोहन गौचनले एचआईभी संक्रमितहरु रोगी हुने, केहि गर्न नसक्ने, चाँडै नै मर्ने भन्ने व्याप्त भ्रम समाजमा रहेका बेला १९ वर्षअघि संक्रमित भएका युवाले सगरमाथा चढ्ने साहस गरेकामा सबैले सफल पार्नुपर्ने बताए । ‘राज्यले रोयल्टी छुट लगायतमा छुट दिईनुपर्छ । सबै पोखरेलीले साथ दिनुपर्छ ।’ उनले भने– ‘एचआईभि संक्रमित भएर पनि सगरमाथा चढेपछि नेपालको नाम विश्वमाझ फैलन्छ भने यो समुदायलाई पनि उत्साहित बनाउँछ ।’

कार्यक्रममा एचआईभी संक्रमित माथि हुने लान्छना तथा भेदभाव विरुद्धको अभियान चलाउँदै आएको स्टेप अप क्याम्पेनका प्राविधिक प्रमुख सुजल गुरुङले अभियान र गोपाल श्रेष्ठका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा थ्री सिष्टरकी लक्की कार्की क्षेत्री, भूपू खेलाडी मञ्चका खड्क रानाभाट, रेडक्रस कास्कीका डण्डराज पौडेल, लागूपद्धार्थ नियन्त्रण महिला समूहकी विष्णु गुरुङ, पृथ्वी होटल समितिका कमल न्यौपाने लगायतले आफूहरुले संस्थागत तथा व्यक्तिगत रुपमा आर्थिक सहयोग गर्न तयार रहेको बताउँदै अरुलाई पनि सहयोग गर्न आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुरज श्रेष्ठले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: