
काठमाडौं, मंसिर १/ अखिल नेपाल फुटवल संघ(एन्फा)ले लिग सकिएको एक वर्ष वितीसक्दा पनि क्लवहरुले पाउने तयारी खर्च र पुरस्कार रकम नदिएपछि ‘ए’ डिभीजन क्लवहरुले खेलुकद परिषद् गुहारेका छन् । चार वटा ‘ए’ डिभिजन क्लबहरुले आज परिषद्का सदस्य सचिव युवराज लामालाई भेटेर ताकेता गरिदीन आग्रह गरेका छन् ।
यस बर्षको लिग शुरु हुने मिति नजिकै आइसकेपनि एन्फाले गत बर्षकै लिगको पुरस्कार रकम र तयारी खर्च अझै नदिएको हिमालय शेर्पा क्लवका अध्यक्ष कर्मा छिरीङ शेर्पाले बताए । एन्फाले हिमालय शेर्पा, फ्रेन्डस् क्लव, सरस्वती क्लव र मछिन्द्र क्लवले पाउने रकम अझै नदिएको मछिन्द्र क्लवका अध्यक्ष जिवेन्द्र श्रेष्ठले बताए । गत बर्षको लिगमा दोस्रो स्थान हाँसील गरेको मछिन्द्र क्लवले पुरस्कार वापत २५ लाख लिन बाँकी छ । त्यस्तै हिमालय शेर्पाले साँढे पाँच लाख, सरस्वतीले साँढे पाँच लाख र फ्रेन्डस्ले चार लाख पचास हजार पाउन बाँकी छ ।
आफुहरुले पाउने रकम बारे कुरा गर्न पटक–पटक फोन गरेपनि एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले पेट दु:खेको भन्दै भेट नदिएको मछिन्द्रका अध्यक्ष जिवेन्द्र श्रेष्ठले बताए । ‘कहिले छाति दुख्यो कहिले पेट दुख्यो भनेर हामीलाई भेट नदिएर अन्य कार्यक्रममा भने ललितकृष्ण दौडीरहेका छन् ।’ हिमालय शेर्पाका कर्माछिरीङले भने ।
फ्रेन्ड्सले नाइजरीयन खेलाडीको टिकट काट्न पाएन
एन्फाले पैसा नदिएपछि फ्रेन्डस क्लवले नाईजेरीयन फुटवलर लाओस मार्टिन लाई घर पठाउन सकेको छैन । ‘लाओसको भिसा अव पाँच दिन मात्र बाँकी छ, तर एन्फाले पैसा नदिएर हामीले उसलाई घर पठाउन सकेनौं’ फ्रेन्डसका अध्यक्ष रत्नशमशेर राणाले भने । खेलकुद परिषद्लाई ताकेता पत्र बुझाउँदै राणाले भने ‘करिब ३ दिनमा निकाशा दिने ब्यवस्था मिलाईदिनु पर्यो,नत्र नाईजेरीयन खेलाडीको भिसा सकिन्छ ।’ परिषद्का सदस्य–सचिव युवराज लामाले क्लव अध्यक्षहरुलाई सहयोग गर्ने आश्वासन दिएका छन् । क्लवहरुले यसअघि पनि एन्फाले पैसा नदिएको भन्दै परिषद् गुहारेका थिए ।

