रौतहटमा एसबीआई बैंक लुट्ने समुह र प्रहरीबीच गोली हानाहान, प्रहरीको गोली लागेर शंकास्पद एकजना घाइते

Share:

२ मंसिर, रौतहट

नेपाल एसबीआई बैंकको चन्द्रनिगाहपुरस्थित शाखामा लुटपाट गर्ने समुह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ । लुटेरा समुहलाई पछ्याउदै गएको प्रहरी र लुटेराहरुबीच टाँडी नजिक गोली हानाहान भएको हो ।

प्रहरीको गोली लागेर सिन्धुली पीपलमाडी १ का नारायण राई घाइते भएका छन् । उनको ढाडमा गोली लागेको छ । गोली लागेर ढलेका राईलाई प्रहरीले चन्द्रनिगाहपुर अस्पताल पुर्‍याएको थियो । तर, उनको अवस्था गम्भीर रहेको भन्दै अस्पतालले चितवन रिफर गरेको छ ।

यसरी भएको थियो लुटपाट

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर भन्दा करिब पाँच मिनेटको पैदल दुरीमा रहेको एसबीआई बैंकमा मंगलबार दिउँसो हतियारधारी समुहले लुटपाट गरेको थियो । दुईवटा मोटरसाइकलमा आएको हतियारधारी समूहले सुरक्षा गार्ड र कर्मचारीहरुलाई नियन्त्रणमा लिएर लुटपाट गरेको थियो । बैंकबाट २० लाख रुपैयाँ लुटपाट भएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।

लुटेराहरुको प्रतिकार गर्न खोज्दा बैंकका सुरक्षा गार्ड शेरबहादुर कार्की घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । कार्कीको सामान्य अवस्थामा चन्द्रनिगाहपुर अस्पतालमा उपचार भैरहेको छ ।

दुईवटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

प्रत्यक्षदर्शीहरुका अनुसार लुटेराहरु मोटरसाइकल बैंक परिसरमै छोडेर भागेका थिए । लुटेराहरुले प्रयोग गरेको बा ८९ प ६९३३ र बा ६२ प ६४१८ नम्बरका दुईवटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । ति मोटरसाइकल वैध हुन् की अवैध हुन् भन्ने खुलेको छैन ।

जिल्लाका सिमा नाकाहरु बन्द गरेर लुटेराहरुको खोजी तिव्र पारिएको रौतहट प्रहरीले जनाएको छ । लुटपाटबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: