
रञ्जन अधिकारी पोखरा, २ मंसीर / सबै व्यक्ति सबै क्षेत्रमा पोख्त हुँदैनन् । रोजाईको विषय छानेपछि त्यसै विधामा गहन अध्ययन÷अनुसन्धान लिन सके त्यसको फाईदा आफूलाई मात्रै होईन समाजलाई पनि पुग्छ । नागरिक सुसूचित गर्ने पत्रकारिता क्षेत्रमा रहेकाहरु झनै सम्बन्धित विषयमा दक्ष हुनु जरुरी छ । पत्रकारले कलम चलाउने आफ्नै लागि मात्र होईन, अरुका लागि हो । गलत सन्देशले नकारात्मक प्रभाव पर्छ ।
राजधानीबाट प्रकाशित अधिकांश छापा तथा बिबिसी सहितका केहि विद्युतीय सञ्चारमाध्यमले पत्रकारलाई बिटगत जिम्मेवारी दिएका छन् । त्यहाँ राजनीति, पर्यटन, अपराध, आर्थिक, शिक्षा, मनोरञ्जन, खेलकूद लगायतका विभिन्न बिटमा काम गर्ने पत्रकार फरक हुन्छन् । तर मोफसलमा अझै बिटगत पत्रकारिताको विकास भईसकेको छैन । पोखराकै पत्रकारहरु पनि एकै व्यक्तिले हरेक क्षेत्रका रिपोर्टिङ गर्नुपर्ने बाध्यता छ । आहारारा गोल्डकपदेखि फेवातालका बारेमा एउटै पत्रकारले कलम चलाउने गर्छन् । लामो समय काम गरेकाहरु अधिकांश पत्रकार बिटगत पत्रकारिताको अनुभवबाट टाढै छन् ।
अब मोफसलमा पनि बिटगत पत्रकारिताको दक्षता अभिवृद्धिका लागि पहल हुन जरुरी छ । नेपाल पत्रकार महासंघ, कास्कीले सोमबारदेखि तीन दिने आधारभूत आर्थिक पत्रकारिता तालिम सुरु गरेको छ । तर पहिलो दिन तालिममा कलम चलाउने पत्रकारहरुको संख्या न्यून रह्यो । पत्रकार भन्दा अधिकांश रेडियो कार्यक्रम चलाउने सञ्चारकर्मी सहभागी रहेको भन्दै आयोजकसँग गुनासो पनि थियो । यद्यपी आधारभूत तालिममा समेत लामो अनुभवबाट खारिएका श्रोत व्यक्ति निम्त्याईएकाले तालिम फलदायी बन्ने विश्वास सहभागीहरुले लिएका छन् ।
डेढ दर्जनको संख्यामा सहभागिता रहेको तालिममा सोमबार नागरिक दैनिकका केशवशरण लामिछानेले आधारभूत आर्थिक पत्रकारिता सम्बन्धी जानकारी र आफूले काठमाण्डौंमा रहेर आर्थिक बिटमा कलम चलाएका अनुभव सुनाए । मंगलबार अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक आर्थिक बिट हेर्दै आएका कुवेर चालिसेले सहजीकरण गर्नेछन् । २० वर्षदेखि पत्रकारिता क्षेत्रमा रहेका चालिसे यसअघि दि हिमालयन टाईम्स लगायतका सञ्चारमाध्यममा काम गरिसकेका छन् । यसअघि, तालिमको उद्घाटन गरेकी एमाओवादी सभासद् तेजकुमारी पौडेलले राजनीति, सामाजिक, अर्थतन्त्र लगायतका हरेक क्षेत्रमा प्रेरणा दिने काम पत्रकारिताले गर्ने भएकाले सशक्त कलम चलाउन पत्रकारलाई यस्ता तालिम फलदायी हुने विश्वास व्यक्त गरिन् । माघ ८ मै संविधान जारी गर्नु भन्दा पनि संविधान कस्तो आउँछ भन्ने विषय महत्वपूर्ण भएको उनको धारणा थियो ।
पत्रकार महासंघ कास्कीकै सभाहलमा आयोजित तालिममा संयोजक तथा महासंघ कास्कीका उपाध्यक्ष राजेन्द्र अधिकारीले तालिमपछि पत्रकारहरुलाई आर्थिक समाचार लेख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । तालिम सहसंयोजक जमुना ‘वर्षा’ शर्माले तालिमले क्षमता अभिवृद्धि हुने भएकाले पत्रकारितामा प्रवेश गरेकाहरुका लागि फलदायी हुने विश्वासका साथ तालिम आयोजना गरिएको बताईन् । अग्रज पत्रकारहरु बद्रिबिनोद प्रतिक, नारायण कार्की, पुण्य पौडेल, गंगाधर पराजुली, रबिन्द्र बाँस्तोलाका साथै शाखा अध्यक्ष रामकृष्ण ज्ञवाली, सल्लाहकार राजबहादुर गुरुङ, कोषाध्यक्ष रामप्रसाद तिमिल्सिना लगायतले तालिमको प्रभावकारिता सम्बन्धमा बोलेका थिए ।
