नवराज ढुङ्गाना
पोखरा, ३ मंसिर
पोखरा विश्वविद्यालयमा पदाधिकारी चयनको बिषयलाई लिएर केहीदिन अघिदेखि बढेको विवाद मिलाउन बुधबार विद्यार्थी, प्राध्यापक र सरोकारवालाहरुले प्रयास गर्दैछन् । विगत चारदिनदेखि आमरण अनसन बसिरहेका सहायक प्राध्यापक गोविन्दप्रसाद लामिछानेको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि र विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक कामकाज प्रभावित भएपछि, समस्या लम्बिन नदिन उनीहरुले प्रयास थाल्न लागेका हुन् ।
समस्या समाधानका लागि दिउँसो सबैपक्षसित छलफल गर्ने तयारी भैरहेको पोखरा विश्वविद्यालयका प्राध्यापक राममणि अधिकारीले विग एफएमलाई जानकारी दिए ।
उपकुलपति प्राध्यापक डाक्टर विष्णुराज तिवारी मागका बिषयमा केही लचक देखिएकाले बुधबार साँझसम्म वार्ताद्धारा समस्याको समाधान हुने संकेत देखिएको उनले बताए ।
औपचारिक वार्ताको समय र ठाउँ नतोकिएपनि विश्वविद्यालयमा देखिएको जटिलता र अनसनरत लामिछानेको जीवनरक्षाका लागि सबैले एकजुट भएर लाग्ने प्रतिबद्धता जनाईसकेकाले अब कसरी अघि बढ्ने भन्ने बिषयमा उपकुलपतिसहित प्राध्यापक र विद्यार्थीहरुबीच छलफल हुन बाँकी रहेको अधिकारीको भनाई छ ।
उपकुलपति तिवारीले पदाधिकारी चयनका बिषयमा देखिएको विवाद कार्यदल गठन गरी समाधान गर्न आन्दोलनरत प्राध्यापक तथा विद्यार्थीहरुलाई हिजो नै आग्रह गरिसकेका थिए ।
बुधबार बिहान कास्कीस्थित विभिन्न राजनीतिक दलका नेता र विश्वविद्यालयका सिनेटरहरुले पनि आन्दोलनरत विद्यार्थी र प्राध्यापकहरुलाई भेटेर छिट्टै वार्ता बसी निष्कर्श निकाल्न आग्रह गरेको गरेका छन् ।
