
नवराज ढुङ्गाना पोखरा, ५ मंसिर पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर बिष्णुराज तिवारीले राजीनामा दिएका पदाधिकारीको राजीनामा स्विकृत गरी औपचारिक घोषणा गरेपछि, आजदेखि विश्वविद्यालयको सम्पूर्ण शैक्षिक तथा प्रशासनिक कामकाज सुरु भएको छ । विश्वविद्यालयमा बिहान प्राध्यापक, विद्यार्थी तथा सरोकारवाला सम्मिलत टोलीसमक्ष उपकुलपति र उनले नियुक्त गरेका पदाधिकारीले राजीनामा दिएको औपचारिक घोषणा गरेपछि, विद्यार्थी तथा प्राध्यापकहरुको आन्दोलन अन्त्य गरिएको अनेरास्ववियूका विद्यार्थी नेता नेशन शर्माले जानकारी दिए ।
प्राध्यापकहरुका अन्य मागका सम्बन्धमा सह प्राध्यापक डाक्टर गोविन्दप्रसाद लामिछानेको संयोजकत्वमा अन्य ३ राजनीतिक संगठनका सदस्य रहने गरी समिति गठन गरेर समस्याको समाधान निकाल्ने सहमति भएको उनले बताए ।
उपकुलपति प्राध्यापक डाक्टर बिष्णुराज तिवारीले अब सबैको सहमतिमा प्रक्रिया अनुसार नै पदाधिकारी चयनको काम हुने बताए ।
यससँगै विश्वविद्यालयको केन्द्रीय कार्यालयसँगै देशभरका सबै आंगिक कलेजहरुमा समेत आजैदेखि पठनपाठन सुरु भएको छ । पाँचदिनदेखि आमरण अनसनमा रहेका सहप्राध्यापक डाक्टर गोविन्द्रप्रसाद लामिछानेले हिजै अनसन अन्त्य गरेपनि विद्यार्थीहरुले भने राजीनामा दिएको औपचारिक घोषणा नगरेसम्म आन्दोलन जारी राख्ने बताएका थिए । पोखरा विश्वविद्यालय ऐन नियम पालना गरिनुपर्ने, ऐन नियम विपरितका नियुक्तीहरु खारेज गरिनुपर्ने र करार प्राध्यापकहरुको सेवाको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राखेर आइतबारदेखि सहप्राध्यापक डाक्टर लामिछानेले आमरण अनसन सुरु गरेका थिए । पाँचदिनसम्म आमरण अनसन बसेका लामिछानेको स्वास्थ्य अवस्था निकै कमजोर भएपछि, उनको अहिले पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा थप उपचार भैरहेको छ ।
