
जाजरकोट, मंसिर ५
जाजरकोटको भुर गाविसमा पर्ने भेरी नदीमा बिहिबार विहान खसेको याज्ञु बस भेटिएको छ । नेपाली सेनाका गोताखोरले केहीबेर अघि नदीभित्रको बस भेट्टाएका हुन् । उनीहरुले शुक्रबार विहानैदेखि बस खोजी गरेका थिए ।
नदीमा बस भेट्टाएर डोरी बाँध्ने काम सकिएको र अब बाहिर तान्ने प्रयास भइरहेको घटनास्थलमा रहेका जाजरकोटका प्रहरी नायव उपरिक्षक दिनेशराज मैनालीले जानकारी दिए । नदीको २०, २५ मिटर तल बस रहेकाले बाहिर निकाल्न समस्या भएको उहाँले बताए ।
जाजरकोटको खलंगाबाट राकमका लागि छुटेको ना २ ख १४ ०८ नम्बरको बस बिहिबार विहान नदीमा खसेको हो । बसमा कति यात्रु थिए भन्ने एकिन भइनसकेपनि ५० जनाभन्दा बढी यात्रु भएको हुनसक्ने प्रहरीको आशंका छ । दुर्घटनामा ज्यान गुमाएका ३ जनाको शव हिजो भेटिएको थियो भने घाइते भएका ११ जनाको सुर्खेत र नेपालगञ्जमा उपचार भइरहेको छ । मोडमा ट्याक्टर भेटिएपछि बसलाई तर्काउन खोज्दा ब्रेक नलागेर दुर्घटना भएको घाइते यात्रुले बताएका छन् ।
