
काठमाडौं, मंसिर ७ । रुसी विदेश मन्त्री सर्गैई लाभरोभले पश्चिमाहरुले आफ्नो देशमा सत्ता पल्टाउने उद्देश्यका साथ यूक्रेन मामिला चर्काइरहेको आरोप लगाएका छन् ।
सत्ता पल्टाउने उद्देश्यकै लागि रुसमाथि आर्थिक नाकाबन्दी थोपरिएको जिकीर पनि उनले गरे । विदेश नीतिका सल्लाहकारहरुसँग भएको छलफलमा उनले अर्थव्यवस्था ध्वस्त बनाएर जनतालाई विरोधमा उचाल्ने षड्यन्त्रमा पश्चिमाहरु लागेको बताए ।
अब रुसी वरिष्ठ अधिकारीहरुमाथि पनि पश्चिमाले निशाना बनाउने लाभरोभको भनाइ थियो । जर्जिया र यूक्रेनमा भएको रंग क्रान्तिको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति भ्लादिमीर पुटिनले पनि मस्कोमा त्यस्तो अवस्था आउन नदिन विहीवार मात्र आदेश दिएका थिए ।
उनले अन्यत्रझै रुसी जनतालाई उचालेमा त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिए । यूक्रेनी विद्रोहीको सहायतार्थ रुसी सैनिक पठाइएको भन्ने आरोपको मस्कोले फेरि पनि अस्विकार गरेको छ ।
यूक्रेनको पूर्वी भाग क्रिमिया मार्चमासम्पन्न विवादास्पद जनमत संग्रहको बहानामा रुसमा गाभेपछि पश्चिमी देश र मस्कोबीच सम्बन्ध चिसिएको छ ।

