व्यापार मेलामा ४ दिनमा ७ करोडको कारोबार / हालसम्म ७४ हजार दर्शकद्वारा मेला अवलोकन

Share:

पोखरा, ७ मंसिर । पोखरा उद्योग वाणिज्य संघद्वारा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला जारी छ । बिहीबारदेखि सुरु मेलामा दर्शकको भीड दिनप्रतिदिन बढिरहेको छ । मेला अवलोकन गर्नका लागि पोखरालगायत आसपासका ग्रामीण क्षेत्रबाट पनि दर्शक प्रशस्त उपस्थित भएका छन् । ‘मेला अवलोकन गर्न छिमेकी जिल्लाबाटसमेत दर्शकको उपस्थिति रहेको छ,’ संघका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक विन्दुकुमार थापाले भने । आइतबार लमजुङ, गोरखा, म्याग्दी, पर्वत उद्योग वाणिज्य संघको टोलीलेसमेत मेलाको अवलोकन गरेको छ ।

National-Industrial-Trade-F

मेलामा आइतबारसम्म ७ करोड रुपैयाँ बराबरको कारोबार भएको संघका महासचिव तथा मेलाका प्रचार–प्रसार संयोजक रवीन्द्रबहादुर प्रजुले जानकारी दिए । ‘आइतबारमात्र ३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भयो,’ उनले भने । शनिबारसम्म ३ करोड ५० करोड रुपैयाँको कारोबार भएको थियो । आइतबार अटो स्टलबाट ४ वटा गाडी बिक्री भएकाले कारोबार बढेको हो । मेलामा आइतबार हुण्डाइको सेन्ट्रो दुईवटा, भर्ना एउटा, आइटेन ग्राण्ड एउटा बिक्री भएको छ । मेलामा राखिएको अटो स्टलमा ग्राहकको भिड बढेको पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्श एशोसिएसन पोखराका अध्यक्ष माधव पौडेलले बताए । ‘मेलाका अवसरमा सवारी किन्दा विशेष छुटको व्यवस्था गरिएको छ,’ उनले भने । मेलाको हालसम्म ७४ हजार दर्शकले अवलोकन गरेका छन् । आइतबार मात्र मेलामा २३ हजार दर्शकको उपस्थिति रह्यो । शनिबारसम्म मेलाको ५१ हजार दर्शकले मेला अवलोकन गरेका थिए ।

मेला अन्तर्गत विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा आइतबार गण्डकी आवासीय उच्च माविका सुष्मा गुरुङ, कञ्चनगंगा बोर्डिङका सुमिना गुरुङ र कास्की मोडर्ननाइज्ड बोर्डिङ स्कुलका निशा गुरुङ विजयी भएका छन् । मेलामा दर्शकलाई मनोरञ्जन प्रदान गर्नका लागि सोमबार लोकदोहरीतर्फ ईन्द्र जिसी, मञ्जु पौडेल, दुर्गा गुरुङ, कृष्णा गुरुङ, सीता केसी, अमर धिताल, प्रदिप त्रिपाठीलगायतका कलाकारको उपस्थिति रहने भएको छ । अन्तरदोहोरी साँझ लोकदोहोरी प्रतियोगितामा रुपहिल फेवा दोहारी साँझ र दौतरी दोहोरी साँझबीच प्रतिस्पर्धा हुनेछ । हाँस्यव्यंग्यतर्फ सैलेन्द्र सिमखडा र ज्योती काफ्लेको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका सहसंयोजक यामबहादुर गुरुङले जानकारी दिए । पप गायनतर्फ सिने गुरुङ एण्ड व्याण्ड काठमाडौंको विशेष प्रस्तुति रहने उनले बताए ।

मेलामा प्रवेश गर्ने दर्शकमध्येबाट लक्की ड्रमार्फत प्रत्येक दिन एक जनालाई सामसुङ मोबाइल प्रदान गरिएको छ । शनिबार मेलामा प्रवेश गरेका दर्शकमध्येबाट ५० रुपैयाँको ०८९९६को टिकटलाई मोबाइल उपहार परेको छ । मेला मंसिर १४ गतेसम्म जारी रहने छ ।

कमेन्ट गर्नुहोस्
Share: