जाजरकोट दुर्घटनामा मृतकको संख्या ४७ पुग्यो, आज मात्रै ४२ शव निकालियो, २७ को पहिचान

Share:

जाजरकोट, मंसिर ७ – भेरी नदीमा बस खस्दा बेपत्ता भएका मध्ये आइतबार ४२ जनाको शव भेटिएको छ । यो संगै दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ जना पुगेको छ । जाजरकोटको खलंगाबाट सुर्खेतको राकामतर्फ जादै गरेको ना३ख् १४०८ नम्बरको बस जाजरकोटको भुर गाविसस्थित भेरी नदीमा बिहीबार खसेको थियो ।तीव्र गतिमा रहेको उक्त बसले विपरीत दिशाबाट आएको ट्रयाक्टरलाई साइड दिन खोज्दा सडकका चार वटा पर्खाल भत्काउँदै नदीमा खसेको थियो ।

दुर्घटनामा एकै गाउँका १२ र एउटै परिवारका पाँच जनासम्म बेपत्ता भएका छन् । तीमध्ये अधिकांश वैदेशिक रोजगारीमा जान लागेका थिए ।मृतकमध्ये २७ जनाको पहिचान भएको प्रहरीले जनाएको छ ।
bherima-bus-khasyo_20141121083346_20141123060646
नदीमा डुबेको बसबाट आइतवार डाँडागाउ-७, चावलेचौरका नरबहादुर बुढा, पृथीबहादुर बुढा, तेजबहादुर पुन, गणेश रोकाय, वडा नं. ६ का लालबहादुर बुढा, ९ का भीमबहादुर रोकाय, खलंगा- का प्रदेशसिंह खत्री, रामबहादुर वली र नरबहादुर विकको शव निकालिएको हो । त्यस्तै, वडा नं ५ का टेकजंग शाह, ६ का दीपक खड्का, रामीडाडा-६ का मुना बुढा, भुर-३ का सर्जन विक, भीमबहादुर विक, विन्दा शाही, ढीमे-१ का मोतीकला मल्ल, पुन्मा-२ का धनबहादुर थापा,  र सीमा- ९ का चुके महतारा छन् । सल्यानका रविन श्रेष्ठ, भारतीय नागरिक सकिल मियाँ, डढेलदुराका भुपेन्द्र टमटा, चितवन मेघौलीका रुद्र गुरुङ्ग, गोरखा पालुङ्गटारका विष्णु आचार्य र बाँके नौबस्ताका सपना सुनारको पनि सनाखत भएको प्रहरी नायव उपरीक्षक दिनेशराज मैनालीले बताए । आईतवार वेलुकीसम्म १५ शवको सनाखत हुन सकेको छैन ।

उक्त दुर्घटनामा मृत्यु भएका खलंगा-२ की गीता सुनार, ढीमे १ का आयुष मल्ल, रामीडाडा-६ का बबिता बुढा, डाँडागाउ-४ का दलुप्रसाद जैसी र कौशिला देवकोटाको शव यसअघि नै निकालेर सनाखत भईसकेको मैनालीले बताए । आईतवार निकालिएका शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोट ल्याईएको छ ।

नदीभित्र रहेको बसबाट निकालेका शवको सनाखत गर्न मुस्किल भएको प्रहरीले बताएको छ । बस भेरीमा आधा डुबेको अबस्थामा छ । अधिकांश यात्रुहरुको शव बसभित्रै भेटिएको प्रहरी नायव उपरीक्षक मैनालीले बताए । पानीभित्र रहेको बसभित्र च्यापीएका शव मुस्किलले निकालेको कणर्ाली चिसापानीका गोताखोर नरेन्द्र शाहीले बताए । बसभित्र भएका सबै निकालिईसकेको उनले जनाए ।

घटनास्थलमा दुर्घटनामा परेका यात्रुका आफन्त ४ दिनदेखि कुरिरहेका थिए । घटनामा मृत्यु हुने सबैभन्दा बढी जाजरकोटका यात्रु छन् । एउटै गाउका १२ र एउटै परिवारका ५ जनासम्म बेपत्ता तथा मृत्यु भएको पाइएको छ । घटनास्थलमा उद्धार जारीरहेको प्रहरीले जनाएको छ ।  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, आधा दर्जन गोताखोर, बस ब्यबसायी, स्थानीयबासीन्दालगायत घटनास्थलमा सक्रिय छन् ।
भीमबहादुर सिंह/ekantipur.com

कमेन्ट गर्नुहोस्
Share: