काठमाडौं, मंसिर ११ / ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ भन्ने नाराका साथ बुधबारदेखि सुरु भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ शिखर सम्मेलन ३६ बुँदे काठमाडौ घोषणापत्र जारी गर्दै बिहीबार सम्पन्न भएको छ ।
काठमाडौँको राष्ट्रिय सभागृहमा सार्कका अध्यक्ष एवम् नेपालका प्रधानमन्त्री सुशील कोइरालाले विशेष समारोहबीच शिखर सम्मेलन समापन गर्नुभएको थियो । समापन समारोहमा भाग लिन आठै देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखसहित पर्यवेक्षक देशका प्रतिनिधि सहभागी हुनुभएको थियो । यसैगरी नेपालका संवैधानिक निकायका प्रमुख र राजनीतिक दलका नेता पनि सम्मेलनमा सहभागी हुनुहुन्थ्यो ।
सार्क राष्ट्रबीच उर्जा विकास सम्झौतामा हस्ताक्षर
समापन सत्रमा सार्क क्षेत्रीयस्तरीय ऊर्जा सहकार्य र विद्युतीकरणको कार्य ढाँचासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। यसपटकका सार्क शिखर सम्मेलनको महत्वपूर्ण उपलव्धी रुपमा सार्क राष्ट्रहरूबीच उर्जा सहकार्य सम्झौता हो। आजको समापन सत्र प्रारम्भ भएपछि सार्कका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले सदस्य मुलुकका विदेश मन्त्रीहरुलाई सो सम्झौतामा हस्ताक्षर गर्न आग्रह गरेपछि सो सम्झौतामा हस्ताक्षर भएको हो। सदस्य मुलुकका वैदेशिक/बाह्यमामिला मन्त्री परिषद्को ३६औं बैठकले सो सम्झौतालाई पारित गरेको थियो।
यो सार्क सम्मेलनमा सार्क राष्ट्रहरुलाई सडक र रेलमार्गबाट जोड्ने सम्झौता भने हुन सकेन । सम्मेलनको प्रमुख एजेन्डामा सार्क राष्ट्रलाई यातायात सञ्जालमा जोड्ने प्रस्तावसमेत थियो । तर, विदेशमन्त्रीस्तरीय बैठकमा पाकिस्तानी विदेशमन्त्रीले यो प्रस्तावलाई अस्वीकार गरेका कारण यातायात ‘कनेक्टिभिटी’ सम्बन्धी सम्झौतामा हस्ताक्षर नभएको हो ।
सम्मेलनको महत्वपूर्ण एजेन्डामा रहेको रेल्वे सञ्जाल र सडक यातायात सञ्जालमा आउन पाकिस्तानले अनिच्छा देखाएको हो । एउटा राष्ट्र असहमत भएपछि सो एजेन्डामा पारित हुँदैन । सार्क राष्ट्रलाई रेल्वे र सडक सञ्जालमा जोड्ने विषयमा पाकिस्तानमा आन्तरिक छलफल र निर्णय हुन बाँकी रहेको भन्दै पाकिस्तानी अधिकारीहरु पछि हटेका हुन् ।
प्रधानमन्त्री सुशील कोइरालाले दक्षिण एसिया क्षेत्रमा शान्ति र समृद्धिका लागि सामूहिक तथा परिणाममुखी कदम चाल्नुर्नेमा जोड दिएका छन्। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८ औँ शिखर सम्मेलनको समापन सत्रमा अध्यक्षका हैसियतबाट सम्बोधन गर्दै उनले सफलतापूर्वक सम्मेलन सम्पन्न गर्न पाएकामा प्रशन्नता व्यक्त गरे।
प्रधानमन्त्री कोइरालाले नेपाल सरकार र नेपाली जनताका तर्फबाट सम्मेलन सफल बनाउन सघाउने सबैमा प्रशंसा र आभार प्रकट गर्दै सार्कको कार्यसूची अभिवृद्धिका लागि नेपाल अध्यक्ष मुलुकका हैसियतले निरन्तर समन्वय गर्न तयार रहेको विश्वास दिलाए।
प्रधानमन्त्री कोइरालाले बुद्धको जन्मभूमि नेपालमा सम्मेलन भइरहेको स्मरण गराउँदै सार्कले तयार गरेका कार्यसूचीलाई अघि बढाउँदै विश्वमा शान्ति, समृद्धि, सामञ्जस्यता, स्थिरता र धैर्यताको सन्देश दिनुपर्नेमा जोड दिए। उनले आगामी १९ औं शिखर सम्मेलन आयोजनाको जिम्मेवारी लिएकामा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफप्रति आभार पनि व्यक्त गरे।
प्रधानमन्त्री कोइरालाले भने-जय सार्क, जय नेपाल
प्रधानमन्त्री कोइरालाले सार्क शिखर सम्मेलनको समापनका अवसरमा दिएको मन्तव्यको अन्तमा ‘जय सार्क, जय नेपाल’ भन्दा निकै बेरसम्म ताली बज्यो । मन्त्व्य अन्त्य गर्ने उनको यो मौलिक शैली रहृयो । प्रधानमन्त्री कोइरालाले सार्क सदस्यहरुबी बलियो सहकार्य र भातृत्वलाई अझ दहि्रलो बनाउन सके यस क्षेत्रको विकास हुने बताए । उनले भने-हामीसँग भिजन छ, हामीसँग नागरिक छन् र हामी बलियो हुँदा हाम्रो उद्देश्य पूरा गर्न सक्छौं ।’प्रधानमन्त्री कोइरालाले सार्कमा सदस्य बन्न धेरै देशले चाहनुले पनि सार्कको सफलताको संकेत गरेको बताए ।
१९ औं सार्क शिखर सम्मेलन पाकिस्तानमा हुने
(सार्क) को १९ औं शिखर सम्मेलन पाकिस्तानमा हुने भएको छ । १८ औं सार्क सम्मेलनका क्रममा प्रधानमन्त्री सुशील कोइरालाले अर्को सम्मेलन पाकिस्तानको इस्लामावादमा गर्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री कोइरालाले निष्कर्ष सम्बोधन गरेपछि भावी सम्मेलन अायोजकका रुपमा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले सबैलाई धन्यवाद ज्ञापन गरे।
सार्कले शान्ति र समृद्धिको सन्देश दिनुपर्छ : प्रधानमन्त्री कोइराला
प्रधानमन्त्री सुशील कोइरालाले १८औं सार्क शिखर सम्मेलन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताएका छन् ।सम्मेलनको समापनपछि विहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कोइरालाले सार्कले शान्ति र स्थाथित्वको क्षेत्रमा गति लिने दाबी गरे ।उनले आफूहरु लोकतान्त्रिक पद्दतिअनुसार माघ ८ मै लोकतान्त्रिक संविधान निर्माण गर्न प्रतिबद्ध भएको पनि बताए । प्रधानमन्त्री कोइरालाको भारत र पाकिस्तानका प्रधानमन्त्रीले आफ्नो पहलमा नभइ उनीहरु आफैंले मित्रवत् रुपमा हात मिलाएको बताए ।
सार्क समापनपछि राष्ट्रपतिको रात्री भोजमा सार्कका पाहुनाहरु, अधिकांश आजै स्वदेश फर्किए !
राष्ट्रपति डा. रामवरण यादवले सार्क राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकारप्रमुखहरुलाई विहीबार (आज) साँझ रात्रीभोज दिएका छन् । काठमाडौंमा सम्पन्न १८औं सार्क शिखर सम्मेलनको समापनपछि राष्ट्रपति यादवले रात्रीभोज आयोजना गरेका हुन् । सार्क राष्ट्रका सबै सरकार प्रमुखहरु सम्मेलनको समापनपछि रामवरण यादवले आयोजना गरेको रात्रिभोजमा सहभागी हुन शीतल निवास पुगे ।
रात्रिभोज लगत्तै बंगालदेशकी प्रधानमन्त्री र प्रधानमन्त्री बाहेक अधिकांश सरकार प्रमुखहरु आजै स्वदेश फर्किएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । यद्यपि बंगलादेशकी प्रधानमन्त्रीको बारेमा अझै टुंगो भने लागिसकेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ, श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्ष, अफगानीस्तानी राष्ट्रपति असरफ घानी विशेष विमानबाट स्वदेश फर्किए ।
माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिनलाई श्रीलंकाली राष्ट्रपति राजापाक्षले आफ्नो बिमानमा श्रीलंकासम्मुलिफ्ट दिने भएका छन् । भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे भने भोलि फर्किने भएका छन् ।
