
नवराज ढुङ्गाना
पोखरा, १२ मंसिर
कास्कीमा क्रियाशिल विद्यार्थी संगठनहरुले आज कास्कीका सम्पूर्ण शैक्षिक संस्था बन्दको आव्हन गरेका छन् । हिजो पक्राउ परेका अखिल क्रान्तिकारीका कार्यकर्ता नेत्र चापागाईंको रिहाई र अवैधानिक रुपमा संचालित शैक्षिक संस्था बन्दको माग राखेर आन्दोलनमा उत्रिएका अखिल क्रान्तिकारी, अनेरास्ववियू, अनेरास्ववियू छैठौं, नेविसंघ र अग्रगामी विद्यार्थी संगठनले शैक्षिक संस्था बन्दको आव्हन गरेका हुन् ।
विद्यार्थी संगठनले शैक्षिक संस्था बन्दको आव्हन गरेपनि पोखरामा आज बिहान सञ्चालन हुने अधिकांश क्याम्पस तथा विद्यालयमा पठनपाठन भैरहेको छ । बन्द भनेर थाहा नपाएका केही शैक्षिक संस्थामा भने केहीबेर पठनपाठन भएर विद्यार्थी तथा शिक्षक फर्किएका छन् ।
शिक्षा कार्यालयले अवैधानिक रुपमा सञ्चालित शैक्षिक संस्था बन्द नभएसम्म र पक्राउ परेका कार्यकर्ताको रिहाई नभएसम्म शैक्षिक संस्था बन्द फिर्ता नलिने अखिल क्रान्तिकारी कास्कीका जिल्ला अध्यक्ष कृष्ण दाहालले बताए ।
विद्यार्थीहरुले हिजो कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्य चढेको सरकारी गाडी जलाउनुका साथै उनको कार्यकक्षमा पुगेर कुर्सी समेत जलाएका थिए । लामो समयदेखि माग पूरा गराउन आग्रह गरेपनि वेवास्ता गरेको भन्दै उनीहरुले हिजैदेखि जिल्ला शिक्षा कार्यालय कास्कीमा अनिश्चितकालिन तालाबन्दी समेत गरेका छन् ।
समस्या समाधानका लागि अहिले बिहान १० बजे जिल्ला प्रशासन कार्यालय कास्कीमा विद्यार्थी, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र प्रहरीबीच वार्ताको तयारी भैरहेको अनेरास्ववियू कास्कीका नेता अर्जुन अधिकारीले जानकारी दिए ।
जिल्लाभित्र लामो समयदेखि विना अनुमति सञ्चालित विद्यालय, मन्टेश्वरी, होस्टेल र ट्युसन सेन्टरको अनुमति खारेज गर्नुपर्ने माग राखेर विद्यार्थीहरु आद्योलनमा उत्रिएका हुन् ।
यसैबीच, विद्यार्थीहरुले केहीबेरअघि महिला विकास कार्यालय कास्कीको सरकारी गाडीमा आगजनी गरेका छन् । पोखराको न्यूरोडमा बा १ झ ३९ ८२ नम्बरको गाडी रोकेर विद्यार्थीहरुले आगजनी गरेका हुन् । आगो लगाउन खोज्ने विद्यार्थीलाई प्रहरीले तत्काल तितरवितर पारेकोले र तत्काल आगो नियन्त्रणमा आएको ठूलो क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता केदार रजौरेले जानकारी दिए ।
