काठमाडौं, मंसिर १३ / डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब भुटानको थिम्पूमा जारी किङ्स कप फुटबल प्रतियोगिताको सेमिफाइलनबाटै बाहिरिएको छ। शनिबार थिम्पूस्थित रंगशालामा भएको पहिलो सेमिफाइनलमा मनाङ बंगलादेशको शेख जमलसँग २–१ ले पराजित हुँदै सेमिफाइनलबाटै घर फर्किएको हो।
पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको मनाङले खेलमा लिएको अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो। मनाङका लागि खेलको ५५ औं मिनेटमा सेड्रिक अबाले गोल गर्दै अग्रता दिलाएका थिए।यस्तै मनाङको कमजोर डिफेन्सको फाइदा उठाउँदै बंगाली टोली शेख जमलका लागि सकवात रोनीले ८५ औं मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याए।
निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको पहिलो मिनेटमै शेख जमलका लागि डरबेय ल्यान्डिङले गोल गर्दै टिमलाई उपाधि नजिक पुर्याएको हो।

