
काठमाडौं, १५ मंसिर । वैद्य नेतृत्वको नेकपा(माओवादी) बाट छुट्टिएर नयाँ पार्टीको औपचारिक घोषणा गर्दै नेत्रविक्रम चन्द विप्लवले दिमागले हतियार सोच्यो भने तत्काल उपलब्ध हुन सक्ने समेत स्पष्ट पारेका छन् ।
उनले अब देशको नेतृत्व कम्युनिष्टहरुले गर्नुपर्ने बताए । राजधानीको राष्ट्रिय नाचघरमा पत्रकार सम्मेलन गर्दै नेकपा माओवादी नामको नयाँ पार्टी स्थापना भएको र देशको नेतृत्व कम्युनिष्टहरुले गर्नुपर्ने र यसका लागि प्रचण्ड, किरण, मातृका र मणि थापासँग सहयोगी भएर अगाडि बढ्ने समेत बताए ।
उनले पुस २३ देखि २६ गतेसम्म राष्ट्रिय सम्मेलनको घोषणा गरेको पार्टीले विप्लवको संयोजकत्वमा गठित आयोजक समितिको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई तोकेको छ । नेपाली कांग्रेसलाई प्रमुख शत्रु भनेको विप्लवको पार्टीले कांग्रेसले १२ बुँदे समझदारी उल्लंघन गरेको भन्दै उसले इमान्दारीपूर्वक त्यसको कार्यान्वयन गर्न माग गरेको छ ।
कांग्रेसले सहमतिहरू उल्लंघन गर्दा पनि अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसंघले उपेक्षा गरेको भन्दै विप्लवको पार्टीले ध्याानाकर्षण गराएको छ । उसले १९५० लगायतका असमान सन्धी खारेज गर्न पनि माग गरेको छ । आफूहरु जंगल जाने, हतियार उठाउने वा युद्ध गर्ने भनी भ्रम फैलाइएको भन्दै विप्लवको पार्टीले त्यसलाई खारेज गरेको भन्दै आफूहरू शान्ति, परिर्वतन र सम्वृद्धि चाहने बताए। राष्ट्रिय स्वाधिनताको अधिकारबाहेक अरु कुनै स्वार्थ नभएको लगायतका १७ बुँदे निर्णय गरेको छ ।
उनले हतियार लुकाएर राखेको भन्ने पत्रकारहरुको जिज्ञासामा त्यसको वारेमा आफुलाई भन्दा पनि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सोध्न आग्रह गरेका छन् । उनले शान्ति सम्झौताका वेला पार्टीको नेतृत्व गरेका प्रचण्डले सम्पूर्ण हतियार राज्यलाई बुझाएको जवाफ दिएका थिए । यद्दपी उनले दिमागले हतियार सोच्यो भने तत्काल उपलब्ध हुन सक्ने समेत स्पष्ट पारेका छन् ।
विप्लवले जनताको लागि आफूहरु मर्न तयार रहेको बताएका छन् । उनले भने– ‘भौतिक दुनियाँमा कोही पनि रहिरहँदैन । जनताको लागि मर्न तयार छौं । हामीले युद्ध होइन अधिकार चाहेका छौं ।’ विप्लवले आफूहरु सामान्य मान्छे भएको र क्रान्ति गर्छौं भनेर लागिरहेको बताउँदै जनताको आकांक्षालाई पूरा गर्नेतिर लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले १० वर्षको जनयुद्धमा ज्यान गुमाएकाहरुको सपना पूरा गर्न आफूहरुसमक्ष ठूलो चुनौती रहेको बताए ।
पूर्व सभासद पदम राईसहित खड्गबहादुर विश्वकर्मा, इश्वरी दहाल, धर्मेन्द्र बास्तोला, तिलक परियार, शरतसिंह भण्डारीलगायतका नेताहरू कार्यक्रममा उपस्थित थिए । अनिल शर्मा, चिरन पुन, कृष्ण अधिकारी, तेजबहादुर मिजारलगायतका नेता तथा जनयुद्ध लडेका लडाकुहरू पनि कार्यक्रममा उपस्थित थिए ।
Source : reportersnepal.com

