
काठमाडौं, मंसिर १५ । दक्षिण कोरियाको इन्छनमा गत आश्विनमा सम्पन्न १७औं एसियाली खेलकुदमा नेपाललाई एकमात्र पदक दिलाउन सफल कास्यपदकधारी कराँते खेलाडी विमला तामाङ सम्मानित हुनेक्रम जारी छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ काठमाडौं क्षेत्र नं. १ ले सोमबार विमलालाई पाँच लाख रुपैयाँसहित सम्मान गरेको छ ।
संघले राजधानीमा आयोजना गरेको कार्यक्रममा उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले विमलालाई सम्मानित गरेका हुन् । आफूले चुनाव जितेको क्षेत्रबाट नै सम्मान गर्न पाएकामा खुसी व्यक्त गर्दै सिंहले खेलकुद बचाइराख्न पनि खेलाडी सम्मान जरुरी भएको बताए ।
पदक जितेको अर्को दिन दक्षिण कोरियादेखि नै नगदसहित सम्मान थाप्दै आएकी विमलालाई सरकारले १० लाख रुपैयाँसहित सम्मान गरेको थियो । सम्मानपछि प्रतिक्रिया दिँदै विमलाले आफूलाई इन्डोनेसियाको जाकर्तामा हुने १८औं एसियाडमा स्वर्ण पदक जित्नका लागि हौसला मिलेको बताइन् ।
Photo : Imagekhabar.com

