गोकुल बानियाँ पोखरा १६ मंसिर । उपत्यका नगरबिकास समितिले बसपार्क निर्माणको लागि १५ दिने सुचना जारी गरी बस्ती खाली गर्न भनेपछि पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी आन्दोलित भएका छन् । नगर बिकास समितिको अल्टिमेटम बिरुद्ध उनिहरुले आन्दोलनको घोषणा गरेका छन् ।
गत मंसिर ५ गते १५ दिने सुचना जारी गरी उपत्यका नगरबिकास समितिले दिएको म्याद सकिन ४ दिन मात्रै बाकी छदा उनिहरुले आन्दोलनको कार्यक्रम सार्बजनिक गरेका हुन् । बिरोधको कार्यक्रम अन्तर्गत मंगलवार पत्रकार सम्मेलन गरी उनिहरुले बिना बिकल्प सुकुम्बासीलाई हटाउने निर्णय बिरुद्ध मंसिर १९ गते बिहान १० देखि दिउसो २ बजेसम्म बिरोध ¥याली निकाल्ने जानकारी दिएका छन् । सो दिन वसपार्क देखि पृथ्बीचोक , सुजनाचोक हुदै क्षेत्रीय प्रशासन कार्यालय अगाडि शहिदचोक सम्म ¥याली निकाल्ने जनाएका हुन् ।
त्यस्तै क्षेत्रीय प्रशासन र जिल्ला प्रशासन कार्यालयमा पुगेर नगरबिकास समितिको निर्णय र त्यसबाट हुन सक्ने क्षती प्रति सचेत गराउदै ज्ञापनपत्र बुझाउने संयुक्त सुकुम्वारी संघर्ष समितिका संयोजक राज बहादुर गदेलले बताए ।
वसपार्क निर्माणको लागि अधिग्रहण गरिएको जग्गामा नयाँ नापी सहित वास्तविक छानबिन गर्नुपर्ने, वसपार्क क्षेत्रमा वसोवास गर्ने सुकुम्वासीको पानी, बत्ती, बिद्यालय जस्ता भौतिक पूर्वाधार सहित पोखरा–९ भित्रै उचित ब्यबस्थापन गर्नुपर्ने, वसपार्कको लागि अधिग्रहण गरिएको जग्गा घडेरीमा विक्रि नभई वसपार्ककै लागि सम्पूर्ण २ सय ५ रोपनी नै प्रयोग गर्नुपर्ने उनिहरुको माग छ । त्यस्तै वसपार्कको चारैतिर रहेको घडेरी र सटरहरु हटाई खुल्ला वसपार्कको निर्माण गर्नुपर्ने साथै घरधनीहरुलाई पनि पोखरा उपमहानगरपालिका वडानम्बर ९ मा रहेका उपत्यका नगरविकासका अन्य जग्गामा ब्यबस्थापन गर्नुपर्ने माग उनिहरुले अघि सारेका छन् ।
नगरविकास समितिले एक लौटी रुपमा विना बिकल्प बस्ती खाली गर्न अल्टिमेटम दिएको कृष्ण टोल विकास संस्थाका अध्यक्ष लेखुराम सोतीले बताए । उनका अनुसार तत्काल डोजर लगाए वसपार्क क्षेत्रमा रहेका कृष्णटोलका एक सय ९४, गणतन्त्र टोलका ६१ र शिवटोलका १३ गरी दुई सय ६८ परिवार बिस्थापित हुनेछन् । साथै सो टोलमा रहेको सहारा वाल प्राबिका अध्यनरत झण्डै ३ सय बिद्यार्थीको भबिश्य अन्योलमा पर्नेछ ।
झण्डै ४० बर्ष अघि पोखरा बसपार्क निर्माणको लागि अधिग्रहण गरिएको २ सय ५ रोपनी जग्गा अहिले ८१ रोपनीमा खुम्चिएको छ । वसपार्क निर्माणकै लागि अधिग्रहण गरिएको जग्गामा झण्डै ४ सय सुकुम्वासी परिवार आश्रित छन् । नगरविकास समितिले सोहि जग्गा मध्य ६८ घरलाई लालपूर्जा उपलब्ध गराईसकेको छ भने एक सय ५ घडेरी बिक्रि गरेको छ ।
नगरविकासको सुचना पश्चात क्षेत्रिय प्रशासक दिनेश कुमार थपलियाले निर्देशनात्मक सुचना जारी गरी तोकिएको मितिमा सुकुम्वासीहरु नहटे डोजर लगाएर भएपनि वस्ती खाली गर्न भनेका छन् । प्रशासनको आडमा वस्ती खाली गर्न आए जस्तोसुकै आन्दोलनको लागि तयार रहेको उनिहरुले चेतावनी दिएका छन् ।
