बर्दिया, मंसीर १७
पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको रम्मापुर ब्यारेक नजिक आज बिहान बस पल्टिँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ । अरु २१ जना घाईते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट महेन्द्रनगरको लागि छुटेको ना ५ ख १३ ०७ नम्बरको रात्री बस बुधबार बिहान ४ बजे मगरागढी ८ को रम्मापुर ब्यारेक नजिक राजमार्ग देखि झण्डै १० मिटर तल खस्दा २ जनाको घटनास्थलमै ज्यान गएको हो । मृतकको अझै सनाखत हुन सकेको छैन । घाईतेलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको बर्दिया प्रहरीले जनाएको छ ।
कुहिरोका कारण बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ । बसका २ जना चालक मध्ये एकजना फरार छन् भने अर्का एक जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
