११ औं लेखनाथ महोत्सबको तयारी पुरा

Share:

गोकुल बानियाँ, पोखरा १६ मंसिर । कास्कीको लेखनाथमा मंसिर १८ गतेदेखि सुरु हुने ११ औं लेखनाथ महोत्सबको तयारी पुरा भएको छ । लेखनाथ –१ भण्डारढिक स्थित प्रस्ताबित रंगशालामा मंसिर २९ गते सम्म सञ्चालन हुने महोत्सबको सम्पूर्ण तयारी पुरा भएको आयोजक लेखनाथ उद्योग बाणिज्य संघले मंगलवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
lekhnath
महोत्सबको सबै स्टल बुकिङ भैसकेको संयोजक एबं लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बाबुराम गिरीले बताए । महोत्सव सम्पन्न गर्नका लागि गठित ४१ सदस्सीय कार्यसम्पादन समिति, ७ सदस्सीय निर्देशक समिति, १२ सदस्सीय सल्लाहकार समिति र ३० वटा उपसमितिहरुले आ–आफ्नो तयारी पुरा गरिसकेको आयोजकले जनाएको छ । महोत्सबको उद्घाटन नेपाल राष्ट्रबैंकका गर्भनर डा. युवराज खतिवडाले गर्ने कार्यक्रम तय भएको छ । महोत्सब उद्घाटनको अबसरमा सय भन्दा बढी संघसंस्थाहरु आ–आफ्नो सास्कृतिक झाकी सहित उपस्थित हुने आयोजकको दाबि छ ।

महोत्सबमा कृषि प्रदर्शनी, डेरी प्रदर्शनी, खाना महोत्सव, अटो, हस्तकला, मेशेनरी, फूड एण्ड वेभरेज, साधारण, गार्मेन्ट र कर्पोरेट लगायतका ३ सय स्टल रहने आयोजकले जनाएको छ । महोत्सव अबधिभर ३ लाख भन्दा बढी दर्शक भित्रने र एक करोड भन्दा बढी आम्दानीको लक्ष्य राखिएको छ । मेला सम्पन्न गर्न झण्डै ९० लाख खर्च लाग्ने र करिब १७ लाख रुपैया बचत गर्ने अपेक्षा छ ।

महोत्सवको आकर्षणहरुमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिबिधिहरु, फुड फेस्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, सुन्तला, माछा, मौरी, कफि र दुग्ध उत्पादनको प्रदर्शनी, तरकारी, जैविक विविधता, कुखुरा प्रदर्शनी लगायत रहेका छन् ।

त्यस्तै राष्ट्रिय तथा स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान,खाना महोत्सव, म्युजिक कन्सर्ट, उत्कृष्ट स्टल पुरस्कार, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, शैक्षिक गतिविधिहरुको प्रस्तुती, रितिरिवाज झल्कने सास्कृतिक महोत्सव, चित्रकला प्रदर्शनी, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि लगायत विभिन्न विषयमा अन्तरक्रिया लगायतका कार्यक्रम महोत्सबमा समेटिएको छ ।

स्थानीय प्रतिभाको खोजी अन्तरगत गायन विधामा गण्डकी तारा , विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता विद्यालय स्तरिय बाल प्रतिभा प्रष्फुटन प्रतियोगिता पनि सञ्चालन हुने संघका प्रथम उपाध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठीले जानकारी दिए । कवि शिरोमणी लेखनाथ पौडेलको स्मृतिमा कविता प्रतियोगितालाई यस बर्ष पनि निरन्तरता दिईएको छ । संघले समग्र लेखनाथको प्रबद्र्धनको लागि भन्दै २०६१ साल देखि निरन्तर महोत्सबको आयोजना गर्दै आएको छ । यसपटकको महोत्सबलाई बृज सिमेण्टले मुख्य प्रयोजन गरेको छ ।

महोत्सब अबलोकनको लागि सर्बसाधारणलाई ५० र बिद्यार्थीको लागि ३० रुपैया टिकटदर कायम गरिएको छ । दुई सय रुपैयाको स्थायी प्रबेश पास लिएर महोत्सब अबधिभरको लागि हुने पनि संघले जनाएको छ । साथै बृद्धबृद्धा, अपाङ्ग र एकल महिलाको लागि सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता बितरण कार्डको आधारमा निशुल्क प्रबेश दिईने प्रचार संयोजक भरत कुमार अधिकारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: