सुर्खेत बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८ पुग्यो, ४९ घाइते

290
0
Share:

सुर्खेत, २२ मंसीर / सहचालकले चलाएका कारण आइतबार साँझ सुर्खेतमा बस दुर्घटना भएको प्रहरीले पुष्टि गरेको छ। कालिकोटको जितेगडाबाट कैलालीको टिकापुरका लागि छुटेको रात्री बस आइतबार साँझ पोखरीकाँडास्थित कल्याणकाँध नजिक दुर्घटनामा परेको थियो। 

दुर्घटनामा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १८ पुगेको छ। मध्यपश्चिम यातायातको ना. ४ ख ६८५७ नम्बरको रात्री बस आइतबार साँझ साढे ६ बजे भीरबाट करिब पाँच समय मिटर तल खस्दा उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेहरुमध्ये तीन जनाको मात्र सनाखत भएको छ ।

Surkhet Bus accident Dead

दुर्घटनामा परी मृत्यु भएकामध्ये बसका चालक छिन्चु सुर्खेतका २४ वर्षीय मिनबहादुर बुढा, बाजुरा गोत्रिका ५० वर्षीय मुनराज विष्ट र सोही ठाउँका ४० वर्षीय पंखे सार्कीको मात्र सनाखत भएको प्रहरीले जनाएका छ। बाँकी शव घटनास्थलबाट वीरेन्द्रनगर ल्याइसकिएको र आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरी निरिक्षक योगेन्द्र हमालले जानकारी दिए।

क्षमताभन्दा बढी यात्रु रहेको र सहचालकले चलाएका कारण बस दुर्घटना भएको प्रहरीले जनाएको छ। ३८ जनाको सिट क्षमता रहेको बसमा ६७ जना यात्रु सवार थिए। बसमा सवार रहेका १८ जनाको मृत्यु भएको र बाँकी ४९ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको क्षेत्रीय अस्पताल सुर्खेत र केहीको नेपालगन्जमा उपचार भइरहेको छ। दुर्घटनामा अधिकांश बाजुराबाट मजदुरीका लागि भारततर्फ जान लागेकाहरु परेका छन्।

आइतबार साँझ साढे ६ बजे बस भिरबाट खसेकाले उद्धारमा कठिनाइ भएको थियो। बसका चालक मृत भेटिएपनि सहचालक भने नभेटिएको प्रहरी निरिक्षक हमालले जानकारी दिए।

ललितबहादुर बुढा/अन्‍नपूर्ण

कमेन्ट गर्नुहोस्
Share: