
काठमाडौं, २२ मंसीर / काठमाडौंको डल्लुमा एक युवाले बयोवृद्ध हजुरआमाको घाँटी रेटेर हत्या गरेका छन् । काभ्रेको ताउखल गाविस–३ घर भई हाल डल्लुस्थित सरस्वती गल्ली डेरा गरी बस्ने ८६ वर्षीया दामु तामाङको उनकै १९ वर्षीय नाति छिरिङ तामाङले सोमबार दिउँसो घाँटी छिनाएर हत्या गरेका हुन् । दामुलाई कोठामा कोही नभएको मौका पारी छिरिङले दिउँसो एक बजे हत्या गरेका थिए ।
भुईँतलाको कोठाको खाटमा सुतिरहेकी दामुको घाँटीमा छिरिङले शुरुमा चुलेसीले रेटेको बयान दिएको डिएस्पी विष्टले बताए । सरस्वती गल्लीस्थित कोठामै सुतिरहेकी उनको कान्छी छोरीका छोरा छिरिङले सुतेकै ठाउँमा चुलेसी र खुकुरीले काटेर घाँटी छिनाई हत्या गरेको महानगरीय प्रहरी प्रभाग स्वयम्भूका डिएस्पी पदमबहादुर बिष्टले अन्नपूर्णलाई बताए ।
‘उसले शुरुमा हजुरआमाको घाँटीमा चुलेसीले रेटेको भेटियो । खाटलाई नै अचानो बनाएर हजुरआमाको घाँटी छिनाएको बयान दिएको छ’, डिएस्पी विष्टले भने, ‘चुलेसीले मात्रै घाँटी नछिनेपछि अरु हतियार पनि प्रयोग गरे छ । बृद्धाको शरीर खाटैमा भेटियो भने टाउको ढोकामा थियो ।’
मृतक दामुसँगै छिरिङ र उनका दाजु बस्दै आएका थिए । दाजु समेत कोठामा नभएको मौका पारेर छिरिङले आफ्नै हजुरआमाका घाँटी छिनाएका हुन् ।
चियोचर्चो गरी घुरेर हेरेको भन्दै हत्या
घटनापछि कोठैबाट पक्राउ परेका छिरिङले प्रहरीसँगको बयानमा हजुरआमाले आफ्नो बढी चियोचर्चो गरी घुरेर हेरेको सहन नसकेपछि हत्या गरेको बताएका छन् । ‘बृद्ध हजुरआमाले आफूलाई निरन्तर हेरेकाले दिक्क भएर हत्या गरेको छिरिङको भनाइ छ । हजुरआमा भुतजस्तै देखिन्थिन्’, छिरिङको बयान उधृत गर्दै डिएस्पी विष्टले भने, ‘सधैं मलाई घुरेर हेर्ने गरेकाले हत्या गरेको हुँ । भुतजस्ती हजुरआमालाई मारेपछि मलाई शान्ति मिलेको छ ।’
कुलतमा थिए छिरिङ
हजुरआमाको हत्यामा संलग्न छिरिङ लागू औषध प्रयोग गरेपछि नौ महिनाअघि पक्राउ परेका थिए । उनलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरी हिरासतमा समेत राखेको थियो ।
प्रहरीले सुध्रने शर्तमा छिरिङलाई रिहा गरेको थियो । रिहा भएपछि छिरिङले केही महिना रंगरोगनको काम समेत गरेका थिए । करिब ४ महिना रंगरोगनको काम गरेपछि छिरिङ बेरोजगार अवस्थामा रहेका प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार कुलतमा लागेको नातिबारे दामुले चासो र निगरानी गर्नु नै उनको ज्यान गुमाउनुको कारण बन्यो । बेरोजगार भएका छिरिङ पछिल्लो समय कुलतमै लागेको प्रहरीको भनाइ छ ।
दामुको घाँटी रेट्ने छिरिङ कान्छी छोरीका छोरा
हजुरआमाको घाँटी छिनाउने छिरिङ दामुका कान्छी छोराका छोरा हुन् । मासु पसलमा काम गर्ने उनका बाबुले दुई पत्नी बिहे गरेका थिए ।
कान्छी पट्टीका छोरा छिरिङले कुलतमै फसेका कारण हत्या गर्न सम्म पुगेको डिएस्पी विष्टको भनाइ छ । ‘उसका बुबा अन्य दाइहरु मजदुर रहेछन् । ऊ मात्रै बेरोजगार देखियो’, विष्टले भने, ‘बेरोजागर नाति कुलतमा लागेको देखेपछि हजुरआमाले चासो राख्दी रहिछन् । हजुरआमाले घुरेर हेरेको भन्दै हत्या गरेको अनुसन्धानले देखाएको छ ।’
Annapurna Post

