
काठमाडौं, मंसिर २३ । अन्तर्राष्ट्रिय ओलम्पिक समितिले सोमबार दुई मुलुकलाई ओलम्पिक खेल संयुक्त रूपमा आयोजना गर्न सहमति दिने पक्षमा मतदान गरेको छ। यसलाई विश्वको सबैभन्दा ठूलो खेल आयोजनामा व्यापक परिवर्तनको आरम्भको रूपमा हेरिएको छ।
आईओसीका अध्यक्ष थोमस बाखले ओलम्पिकमा ४० वटा सुधारको प्रस्ताव राख्नुभएको छ र यस विषयमा दुई दिने छलफल आरम्भ भएको छ। गृष्मकालीन तथा शीतकालीन ओलम्पिक खेलको आयोजना लागत कम गर्न दुई मुलुकले मिलेर यो खेल आयोजन गर्न चाहेमा अनुमति दिने विषयमा सर्वसम्मतिले निर्णय गरेको छ।
आईओसीको विशेष अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष बाखले यस संस्थाले आफ्नो विश्वसनीयता अझै बलियो बनाउन आफैँमा सुधार गर्नुपन बताए। उनले जनताको प्रवृत्ति तथा विश्वको अर्थतन्त्र तथा राजनीतिको प्रवृत्तिमा प्रमुख परिवर्तन देखिएकाले ओलम्पिक अभियानमा महत्वपूर्ण तथा दीर्घप्रभाव पार्ने सुधार गर्नु आवश्यक भएको बताए। उनले यी समस्यालाई अहिलै समाधान नगरे तिनीहरूले निकै छिटो प्रभाव पार्न थाल्ने बताए। साथै उनले यी समस्यालाई नहटाए यी समहस्याले आफूहरूलाई हटाउने बताए।।
पहिलो अधिवेशनको पहिलो मतदानले ओलम्पिक खेललाई आयोजक नगर तथा मुलुकबाहिर पनि आयोजना गर्न अनुमति दिने भएको छ।
परम्परागत रूपमा फुटबल जस्ता खेललाई विभिन्न स्थानमा आयोजना गर्न अनुमति दिइने गरिन्थ्यो र यसलाई अपवादको रूपमा लिइन्थ्यो। अध्यक्ष बाखले ओलम्पिक खेलको लागत कम गर्न तथा साना मुलुकलाई पनि यो खेल आयोजना गर्न निवेदन दिन सक्ने बनाउन यस प्रकारको परिवर्तन चाहेका थिए।
यस अधिवेशनमा निवेदन दिने मुलुकले गर्नुपर्ने प्रस्तुतीकरणको सङ्ख्या घटाउने तथा आईओसीले पनि बढी लागत व्यहोर्नुपर्ने व्यवस्था गरी निवेदन दिने लागत घटाउने पक्षमा पनि मतदान भएको छ।
यस बैठकमा हाल २८ खेलको सीमा बढाउन तथा खेलाडी र व्यक्तिगत प्रतिस्पर्धा सङ्ख्या घटाउन सकिने प्रस्तावमा पनि मतदान हुनेछ।
अध्यक्ष बाखले सोमबार ओलम्पिक टेलिभिजन च्यानलको उद्घाटनको घोषणा गरेका छन्।
ओलम्पिक तरवारवाजीमा स्वर्णपदक विजेता बाख सन् २०१३ मा अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष भएको हो र उनले त्यसपछि यस संस्थामा सुधारको प्रस्ताव अगाडि बढाएका हुन्।
उनले राखेकासबै प्रस्ताव पारित हुने अनुमान गरिएको छ। बैठकमा ओलम्पिक नेतृत्वलाई खेललाई विभाजन गर्दा त्यसको वातावरण कसरी कायम राख्ने भन्ने विषयमा प्रश्न गरिएको छ।
अध्यक्ष बाखले मतदान सम्पन्न भएपछि सन् २०१८ मा शीतकालीन ओलम्पिक खेल आयोजना गर्ने दक्षिण कोरियाको प्योनचाङ तथा सन् २०२० मा गृष्मकालीन ओलम्पिक आयोजना गर्ने टोकियोलाई खर्च कम गर्न र खेललाई बढी आकर्षक बनाउन परिवर्तन गर्न मौका दिन सकिने बताए।
जापानले खेलको सूचीमा बेसबल तथा सफ्टबललाई ल्याउन चाहेको छ भने प्योनचाङले रकम बचत गर्ने उपाय खोजेको छ।
सन् २०१२ को लन्डन ओलम्पिक सफल भएको भनी प्रशंसा गरिएको छ भने अमेरिकी च्यानल एनबीसीले ७.७५ अर्ब अमेरिकी डलर तिरेकाले गृष्मकालीन खेलले राम्रो आय गरेको बताइएको छ।
बाखले यस वर्षको १० महिनाको अवधिका लागि १० अर्ब अमेरिकी डलर बराबरको प्रायोजन तथा टेलिभिजन प्रसारण सम्झौता भएको बताए।
शीतकालीन ओलम्पिकको अवस्था भने राम्रो देखिएको छैन। रसियाले सोची खेलका लागि ५० अर्ब अमेरिकी डलर खर्च गरेको थियो भने सन् २०२२ को खेलका लागि बेइजिङ तथा काजाख नगर अलमाटीले मात्र निवेदन दिएका छन्।
धेरै युरोपेली नगरका वासिन्दाले जनमत सङ्ग्रहमा लागतका कारण यस खेलको विपक्षमा मतदान गरेकाले ती नगरले आफ्नो निवेदन फिर्ता लिएका छन। रासस/एएफपी
कमेन्ट गर्नुहोस्

