
रञ्जन अधिकारी पोखरा, २५ मंसीर / शिक्षामन्त्री चित्रालेखा यादवले गुणस्तरीय शिक्षा नै आजको मूख्य चूनौति भएको बताएकी छिन् । व्यवहारिक शिक्षामा जोड दिँदै दक्ष जनशक्ति उत्पादन गर्नुनै अहिलेको आवश्यकता भएको उनको ठम्याई छ ।
पोखरा ८ सिमलचौर स्थित जनप्रिय बहुमुखी क्याम्पसको २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले विद्यालय र शिक्षकले गुणस्तरीय शिक्षा प्रदान गर्ने र विद्यार्थी पनि लगनशील भएको खण्डमा शैक्षिक स्तर राम्रो हुने बताईन् । ‘शिक्षामा सबैको पहुँच आवश्यक छ’ शिक्षामन्त्री यादवले भनिन् – ‘जबसम्म शिक्षाको पहुँच नै हुँदैन, तबसम्म हाम्रो देश अल्पविकसितबाट विकासोन्मुख राष्ट्रतिर लम्कन सक्दैन ।’
उनले जस्तोसुकै कठिन परिस्थितिमा पनि शिक्षाबाट पछि हट्न नहुने भन्दै आफ्नो बाल्यकाल स्मरण गरिन् । ‘तराईको ठाउँ, त्यहाँमाथि छोरी मान्छे । बुबा, आमा र हजुरआमालाई किन पढ्न नहुने मैले भन्दै प्रश्न गर्ने गर्थें’– उनले भनिन् – ‘त्यो बेला पढ्न संघर्ष गरेकी थिएँ र आज यहाँ छु ।’ उनले विद्यार्थीमा अनुशासन अपरिहार्य भएको भन्दै दक्ष बनेर देशका लागि केहि गर्न विद्यार्थीलाई अनुरोध गरिन् । मुलुककै उत्कृष्ट मध्येमा जनप्रिय क्याम्पस पनि उभिन सफल भएकोमा खुशी प्रकट गर्दै उनले जनप्रिय अब सर्वप्रिय बन्नुपर्ने शुभेच्छा प्रकट गरे ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष दामोदर चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा आमन्त्रित क्याम्पस प्रमुखहरुका तर्फबाट पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा.डा. देवेन्द्र लामिछाने, शिक्षक अभिभावक संघका अध्यक्ष ध्रुबराज पौडेल, सिर्जना विकास केन्द्रका अध्यक्ष राजु पौडेल लगायतले जनप्रिय क्याम्पसले यस क्षेत्रमा पु¥याएको शैक्षिक योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा क्याम्पस प्रमुख विरञ्जी गौतमले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत बिबिए आठौं सेमेष्टरमा नेपाल प्रथम हुन सफल सन्ध्या घिमिरे, प्राध्यापकहरुमध्येबाट उत्कृष्ट उपप्राध्यापक हरिबहादुर भण्डारी, उत्कृष्ट कर्मचारीबाट सोना सुनार र स्थापनाकालिन विद्यार्थी मध्ये सरीता बराललाई प्रमुख अतिथि शिक्षामन्त्री चित्रालेखा यादवले दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरेकी थिईन् ।
कार्यक्रममा विभिन्न संकायमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत पनि गरिएको थियो । ६ हजार राशीको प्रेमनारायण बराल विद्यार्थी पुरस्कारबाट स्नातक तह मानविकी संकायकी छात्रा रेणु थापा, छ हजार राशी बराबरकै सुरेन्द्र पौडेल स्मृति पुरस्कारबाट स्नातक तह व्यवस्थापन संकायमा उत्कृष्ट हुने लिल बहादुर गुरुङ, ३ हजार राशीको पुतली साई स्मृति पुरस्कारबाट कक्षा ११ मानविकी संकायका राजकुमार नेपालीलाई पुरस्कृत गरिएको थियो ।
यस्तै, स्नातक तहमा उत्कृष्ट पुरस्कारबाट बिबिएका कैलाश राजभण्डारी ६ हजार नगद र उच्च मावि तहमा विज्ञान संकायका खिमबहादुर कुँवर ४ हजार नगदसहित पुरस्कृत भए । उच्चमावि तहको संकायगत उत्कृष्ट पुरस्कारतर्फ शिक्षा संकायका दावा गुरुङ, व्यवस्थापन संकायका रविना कोईराला र मानविकी संकायका प्रिया कार्की जनही ३ हजार नगदसहित पुरस्कृत भए । स्नातक तह छात्रा उत्कृष्ट तर्फ व्यवस्थापन बिबिए संकायका कुशलता भट्टराई, व्यवस्थापन बिबिएस तर्फ संगीता कार्की, विज्ञानतर्फ सृजु प्रधान जनही ३ हजार सहित पुरस्कृत भ एभने उच्च मावि तह छात्रा उत्कृष्ट तर्फ विज्ञान संकायकी सुधा घिमिरे र शिक्षा शास्त्रतर्फ आबु याङ्डोन गुरुङ नगद २५ सय सहित पुरस्कृत भए ।
सो अवसरमा विभिन्न शैक्षिक, अतिरिक्त तथा खेलकूद प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गर्नुका साथै विद्यार्थीहरुले नृत्य, गीत प्रस्तुत समेत गरेका थिए । कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष ईन्द्रबहादुर कुँवरले स्वागत तथा सहायक क्यााम्पस प्रमुख राजेन्द्र पौडेलले सञ्चालन गरेका थिए । वार्षिकोत्सवकै अवसरमा बुधबार पोखरामा विद्यार्थीहरुले प्रभातफेरि निकालेका थिए ।

