पश्चिमा मुलुकहरुले धर्मपरिवर्तनमा हस्तक्षेप गरे :थापा

309
0
Share:

काठमाडौं, २७ मंसिर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पश्चिमा मुलुकहरुले नेपालमा नाङ्गो हस्तक्षेप गर्न थालेको भन्दै कडा आपत्ति जनाएका छन । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष थापाले केही सञ्चार माध्यमहरुले पश्चिमा आइएनजीओहरुको डलरको प्रभावमा परेर हिन्दू धर्मको बदनाम गर्न लागिपरेको आरोप पनि लगाएका छन् ।

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले भने–‘केही करोड डलर सहयोग दिएँ भन्दैमा हस्तक्षेप गर्न पाइन्छ ? नेपालको संविधानमा यो लेख र ऊ लेख भनेर खटनपटन गर्न पाइन्छ ?’ ‘धर्म परिवर्तन गर्ने अधिकार संविधानमै लेख्नुपर्छ भनेर आदेश दिने अधिकार पश्चिमा कूटनीतिक निकायका प्रमुखहरुलाई कहाँबाट आयो ?,’ उनले प्रश्न गरे ।

उनले भने, ‘केही करोड डलर सहयोग गरेको भरमा नेपालमा आएर यहाँको सांस्कृतिक, राजनीतिक र धार्मिक अवस्थालाई भाड्नका लागि हस्तक्षेप गर्न पाईदैन । केही दिन यता पश्चिमा मुलुकका राजदुतहरुले हिन्दूधर्मको विपक्षमा अभिव्यक्ति दिएकोप्रति आक्रोश व्यक्त गर्दै भने–‘ती राजदुतहरुलाई यसरी खुल्ला रुपमा बोल्ने अधिकार कसले दियो ? यस्ता खाले अभिव्यक्ति तत्काल बन्द हुनुपर्छ । सरकारले यसवारेमा किन सोध्न सक्तैन । यसमा अब सबै दल सचेत हुनुपर्छ, सरकारले पनि अब यो बारेमा बोल्नुपर्छ । ’ कूटनीतिक नियोगका प्रमुख र जिम्मेवारहरुले नेपालको राष्ट्रिय अस्मितामा ठाडो हस्क्षेप गर्दै बोल्न थालेको समेत थापाले बताए । उनले भने–‘आघात पुग्ने ढंगबाट वक्तव्यवाजी गरिरहेका छन्, अनुचित दवाब संविधानमा दिइइरहेका छन् । यो तत्काल बन्द हुुनुपर्छ ।

थापाले केही नेताहरुले संविधानसभालाई चंगुलमा पारेको आरोप लगाउँदै भने–‘जबसम्म यसबाट संविधानसभा मुक्त गरिँदैन, तबसम्म जनताले चाहेजस्तो संविधान बन्दैन । रातदिन बालुवावटारमा वैठक बसेर संविधानसभाको चीरहरण गर्ने काम भएको छ ।’ उनले संविधानसभाका  सदस्य लाचार भएर बस्न बाध्य भएको समेत बताए । ‘सभासदको भूमिका निषेध गरेर कस्तो संविधान बन्ला तपाईहरु कल्पना गर्नुहोस त?, उनले थपे ।

थापाले राष्ट्रपति डा. रामबरण यादवले केही दिनअघि सार्वजनिक कार्यक्रममै लोकतन्त्र र धर्म निरपेक्षता परिपूरक हुन् भनेर सस्तो लोकप्रियतामा आधारित अभिव्यक्ति दिएकोप्रति कडा आपत्ति जनाएका छन् । उनले भने–‘ राष्ट्रपतिजस्तो पदबाट यस्तो कुरा अभिव्यक्त हुनु सुहाउँने कुरा होइन । उहाँ त धर्म निरपेक्ष र हिन्दुराष्ट्र चाहेने दुबैको साझा हुनुपर्छ ।’

उनले व्यवहारिक रुपमा राष्ट्रपति यादवले हिन्दूराष्ट्रको भूमिका निर्वाह गरेको बताउँदै भने–‘इन्द्रजात्रा र शिवरात्रीमा राष्ट्रप्रमुखका रुपमा सहभागी बन्नुहुन्छ तर सस्तो लोकप्रियताका लागि किन यस्तो अभिव्यक्ति दिनुभयो ।’

थापाले राष्ट्रपति यादवले लोकतन्त्र र धर्म निरपेक्षता परिपूरक भनेर गलत बोलेको समेत आरोप लगाए । उनले राष्ट्रपति हिन्दूराष्ट्र र धर्म निरपेक्ष, संघीयता चाहने वा नचाहने सबैको साझा हुनुपर्ने समेत स्पष्ट पारे । उनले भने–‘संविधान निर्माणमा उहाँले चिन्ता चासो लिनु स्वाभाविक हो ।’

अध्यक्ष थापाले सनातन हिन्दूराष्ट्र बनाउने पक्षमा बहुसंख्यक जनताको साथ र समर्थन रहेको उल्लेख गर्दै बाह्य शक्तिको दवाब र प्रभावमा सनातन हिन्दू राष्ट्रको पहिचान समाप्त पार्ने काम भएकोमा आपत्ति जनाएका छन् । उनले आफ्नो पार्टीले राजसंस्था नछाडेको जिकिर गर्दै भने–‘हामी राजसंस्थाको एजेण्डा छाड्दैनौं, राप्रपा नेपाल राजासहतिको  प्रजातन्त्रमा अडिरहन्छ ।’

पछिल्लो समय राप्रपा नेपालले राजसंस्थाको एजेण्डा छोडेको हो भन्ने पत्रकारहरुको जिज्ञासामा थापाले भने–‘अन्य कुनै कारण छ भन्ने लाग्दैन । राजसंस्था हामीले होइन तपाईहरुले ओझेलमा पारिदिनुभयो, राप्रपा नेपालले हिजो अत्यन्तै प्रतिकूल अवस्थामा पनि राजासहितको प्रजातन्त्र भनेकै हो । हाम्रो मान्यता परिवर्तन हुने कुनै धरातलीय आधार तयार भएको छैन त्यसैले हामी राजासहितको प्रजातन्त्रको एजेण्डालाई छाड्दै छाड्दैनौं ।’

उनले आफहरु बरु मर्न तयार हुने तर पार्टीले अख्तियार गरेका सिद्धान्त नछोड्ने बताउदै भने–‘रणनीति वा कार्यनीतिमा परिवर्तन हुन्छ तर सिद्धान्त परिवर्तन हुँदैन र विजय पनि सिद्धान्तनिष्ठ पार्टीकै हुन्छ ।’

थापाले दुई तिहाईका आधारमा संविधान जारी गरे के गर्नुहुन्छ भन्ने प्रश्नमा भने–‘हामीलाई प्रतिगामी र अलोकतान्त्रिक भन्नुहुन्छ तर हामी लोकतन्त्र मान्छौं, संविधान मान्छौं, संविधानको निष्ठामा हाम्रो प्रश्न नउठाउनुस्, भोलि पनि मान्छौं हामी जलाउँदैनौं । ’ उनले विधि र प्रकृयाअनुसार निर्णय गर्दा आफूहरुले भने बमोजिम भएपनि नभएपनि संविधान स्वीकार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

थापाले विगतमा आफ्नो पार्टी एक्लैले हिन्दूराष्ट्रको पक्षमा वकालत गरेको स्मरण गर्दै हाल अन्य दलका नेताहरुले समेत हिन्दूराष्ट्रको एजेण्डा उठाउनु स्वागतयोग्य भएको प्रष्ट पारेका छन् । उनले तत्काल एकता वा सहकार्यका लागि पशुपतिजीहरुसँग एजेण्डागत रुपमा कुरा नभएको जिकिर गर्दै हिन्दुराष्ट पुर्नस्थापनाका निम्ति सबै एक ठाउँमा उभिन सक्ने स्पष्ट पारे ।

उनले हालै १८ औं सार्क शिखर सम्मेलनमा भाग लिन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अन्य कुनै कारण नभई प्राविधिक कारणले मात्रै भेट नभएको स्पष्ट पारे । ‘ भारतीय दुतावासबाट लिखित रुपमै २७ तारिखका दिन विहान ८ः५० मा चिठी आएको थियो र हामीले त्यही अनुरुप नै तयारी गरेका थियौ तर पछि समय अभावका कारण भेट हुन सकेन’ उनले थपे ।

उनले निर्धारित मिति माघ ८ गते नै संविधान जारी गरिनुपर्ने र नेपाललाई सनातन हिन्दूराष्ट्र बनाउने उद्देश्यले आफ्नो पार्टीले आगामी पुस नौ गतेदेखि मेचि–महाकालि श्री पशुपतिनाथ संकल्प रथयात्राको आयोजना गरेको जानकारी दिए । थापाले उद्घाटन समारोहमा झापामा पचासौं हजार मानिस हुने बताउँदै  काठमाडौंमा पुष १८ गते व्यापक जनसभाको आयोजना गर्ने समेत बताए ।

उनले हिन्दूराष्ट्रको विरोधवारे पश्चिमाहरुले पढाएको पाठबाट मुक्त गर्न पनि आफूहरुले मेचि–महाकालि रथयात्राको आयोजना गरेको बताउँदै भने–‘आफ्नो धर्मबारे किन हिनता भावना राख्न यसवारेमा पनि जनता जागरुक पार्ने र संविधान बनाउन दवाब दिने, संविधानमा हिन्दूराष्ट्र बनाउन जनतालाई जागरुक बनाउने उद्देश्यले हामीले रथयात्राको आयोजना गरेका हौं ।’

थापाले यथास्थितिमा  माघ ८ गने संविधान आउन नसक्ने समेत बताएका छन् । उनले आफ्नो पार्टीका कुनै पनि सभासद ककसमा सहभागी नभएको भन्दै यदि सहभागी भएको थाहा भए तीनीहरुलाई अवश्य पनि कारबाही गर्ने बताए ।

कमेन्ट गर्नुहोस्
Share: