कपिलले भने- म फेरि कार्यक्रम लिएर काठमाण्डौं आउँछु / ‘नेपाल पनि घर जस्तै लाग्छ’

Share:

२७ मंसिर, काठमाडौं / भारतका चर्चित कमेडियन कपिल शर्माले शनिबार काठमाडौंमा हुने तय भएको आफ्नो कार्यक्रम रद्द भएकोमा दुःख व्यक्त गरेका छन् । कार्यक्रमको निर्धारित तालिकाअनुसार आफ्ना टीमका सदस्यसहित आज बिहान काठमाण्डौ आइपुगेका कपिलले साँझ याक एण्ड यति होटलमा पत्रकार सम्मेलन गरी नेपाली दर्शकहरुका लागि छिट्टै अर्को कार्यक्रम लिएर आउने बताए ।

kapil sharma

‘धेरै मानिसहरुलाई भेट्ने यो उपयुक्त मौका थियो’ उनले भने-‘नेपाली दर्शकका लागि हामी छिट्टै केही गर्छौं ।’ काठमाडौं आफ्नो मन पर्ने ठाउँ भएको भन्दै उनले यहाँ आउन मन पर्ने बताए ।

सुरक्षाका कारण आफ्नो कार्यक्रम स्थगित भएको जानकारी पाएको भन्दै उनले भने-‘कार्यक्रम स्थगित भएकोमा दुःख लागेको छ । तर, सुरक्षा पनि मुख्य कुरा हो । कार्यक्रम स्थलमा केही समस्या रहेछ । कार्यक्रम भएर त्यहाँ कुनै भागदौड भइदिएको भए नराम्रो हुन सक्थ्यो ।’

आफ्नो कमेडियन शैलीमा उनले भने-बडेबडे देशमे छोटे-छोटे बात होते रहेते हो ।’ नेपाली दर्शकलाई हसाउन नपाए पनि आफुले पशुपतिनाथको दर्शन गरेर जाने कपिलले बताए ।

कमेडी नाइट विथ कपिलमा दादीको भूमिका रहेका अली अस्गर र नोकरको भूमिका रहेका राजुलाई लिएर आएका थिए ।

काठमाडौंमा कार्यक्रम हुने तय भएपछि र स्थगित भएपछि पनि आफूलाई ट्वीटरमा धेरै रेस्पोन्स आएको उनले बताए । कपिलले सगरमाथा भारतमा पर्छ भनेर आफूले नभनेको समेत स्पष्टिकरण दिए ।

कमेन्ट गर्नुहोस्
Share: