काठमाडौं, मंसिर २९ । जापानमा सम्पन्न संसदीय निर्वाचनमा प्रधानमन्त्री शिन्जो आबेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले बहुमत हासिल गरेको छ । सिन्जो आबेको पार्टी एलडीपीले बौद्ध समर्थित कोमेइटो पार्टीसँगको समन्वयमा ४ सय ७५ सीट मध्ये ३ सय २५ सीटमा जित हात पारेको जापानको निर्वाचन आयोगले जनाएको छ ।

विपक्षी डेमोक्रेटिक पार्टी अफ जापानले भने जम्मा ७३ सीट मात्रै जितेको छ । सन् २०१२ मा जापानका प्रधानमन्त्री बनेका सिन्जो आबेले देशको अर्थव्यवस्था उकास्न सरकारी खर्च बढाइ अर्थव्यवस्थामा केही सुधार गरेका थिए ।
यद्यपि, यही वर्षको अन्त्यमा देशमा फेरि आर्थिकमन्दी छाएकाले आबेको लोकप्रियता केही हदसम्म घटेको थियो ।
बहुमत हासिल गरेलगत्तै आबेको काँधमा देशको अर्थतन्त्र उकास्न ठूलो चुनौती थपिएको छ । प्रधानमन्त्री सिन्जो आबेले निर्धारित समयभन्दा दुई वर्षअघि नै आमचुनावको घोषणा गरेका थिए । (एजेन्सी)
