गोकुल बानियाँ , पोखरा १ पुष । सेवाग्राहीको बढी चाप हुने कास्कीका तीन वटा सरकारी कार्यालयमा मंगलवारबाट दुई सिफ्ट्को सेवा सुरु भएको छ । यातायात ब्यबस्था कार्यालय गण्डकी, जिल्ला मालपोत कार्यालय र नापी कार्यालयले मंगलवार बिहान ६ बजेदेखि सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले पिसपोखराडटकमलाई जानकारी दिए ।
सेवाग्राहीको उपस्थितिको आधारमा बढी चाप हुने कार्यालयमा मात्रै दुई सिफ्टको सेवा सुरु भएको र अन्य कार्यालयमा तत्काल नहुने उनले बताए । पहिलो दिन बिहान ६ बजेनै कार्यालय खुलेपनि सेवाग्राही भने कम मात्रै उपस्थित थिए । पहिलो दिन सेवाग्राहीलाई जानकारी पनि नभएकाले उपस्थिति न्यून भएको हुनसक्ने सम्बन्धित कार्यालय प्रमुखहरुले बताएका छन् ।
यातायात व्यवस्था कार्यालय गण्डकीका निमित्त कार्यालय प्रमुख दिपक कुमार पोख्रेलका अनुसार आज पहिलो दिनको बिहानी सेवामा १५ जना सेवाग्राही उपस्थित भएका थिए । जिल्ला मालपोत र नापीमा पनि आज पहिलो दिनको बिहानी सत्रमा सेवाग्राहीको उपस्थिति निकै कम थियो । कास्कीको यी तीन कार्यालयमा अबदेखि हप्ताको ६ दिननै बिहान ६ देखि १२ र १२ देखि साझ ६ बजेसम्मको दुई सिफ्ट सेवा सञ्चालन हुने बताईएको छ । सेवाको लागि घण्टौ लाईनमा बस्नुपर्ने र एक दिनमा सकिने कामको लागि दुई दिन सम्म धाउनुपर्ने बाध्यता अबभने हट्ने अनुमान गरिएको छ ।
मालपोत, नापी र यातायात ब्यबस्था कार्यालयमा सेवा लिन जाने सेवाग्राहीले अबदेखि बिहान ६ देखि साझ ६ बजेसम्म सेवा पाउने भएकाले सोहि अनुसार आफ्नो अनुकुल समयमा उपस्थित हुन प्रमुख जिल्ला अधिकारी राउतले आग्रह गरेका छन् ।
पहिलो चरणमा काठमाण्डौ उपत्यका सहित मोरङ, रुपन्देही, बाके र कैलालीमा पनि बढी भिडभाड हसने कार्यालय बिहान ६ बजेनै खुल्न थालेका छन् । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मंगलवार बिहान ६ बजेनै जिल्ला प्रशासन कार्यालय काठमाण्डौ पुगेर सेवा सुभारम्भ गरेका थिए ।
कर्मचारीले अतिरिक्त भत्ता नपाउने
अत्याबश्यक सेवा सञ्चालन हुने सरकारी कार्यालय बिहान ६ बजेदखिनै खुलेपनि कर्मचारीले अतिरिक्त भत्ता नपाउने भएका छन् । सामान्य प्रशासनमन्त्री पण्डितले सिफ्ट परिबर्तन हुदैमा भात र खाजा नखोज्न कर्मचारीलाई आग्रह गरे ।
कर्मचारीहरुले नियमअनुसार एक सिफ्टमा सात घण्टा मात्र काम गर्ने भएकाले खाजा वा खानाका लागि भनेर अतिरित्त भत्ता दिन नसकिने उनले स्पष्ट परेका छन् । ‘ दिउसोका सिफ्टमा काम गर्नेले ८ घण्टा गर्छन् , बिहानको ७ घण्टा मात्रै हुन्छ त्यसैले ओभरटाईम गरेका होईनन् ’ उनले भने । तर दुई सिफ्टमा काम गर्ने कर्मचारी अपुग भए आफुलाई जानकारी गराउन उनले आग्रह गरेका छन् ।
