बौद्ध अर्घौं सदनमा धर्मदेशना (प्रवचन) कार्यक्रम

Share:

रञ्जन अधिकारी पोखरा, ५ पुस / नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको आयोजना र बौद्ध अघौं सदनको व्यवस्थापनमा पोखरा १० रामघाटस्थित बौद्ध अर्घौं सदनमा दुईदिने धर्मदेशना प्रवचन कार्यक्रम शुरु भएको छ ।

बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको वार्षिक कार्यक्रम अन्र्तगत तमुहरुको नयाँ वर्ष महान पर्व ल्हु ल्होछारको आगमनको अवसरमा आयोजित कार्यक्रमको प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत र विशेष अतिथि धर्मगुरु खेन्पो साङ्गे राङजुङ रिम्पोछेले दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले नेपाल बहुजातिय, बहुधार्मिक र बहुसांस्कृतिक पक्षले युक्त भएकाले सबै धर्म संस्कृति उत्तिकै महत्वपूर्ण रहेको बताए । ‘सबै धर्म संस्कृति सबल बन्नुपर्छ । सबै धर्मावलम्बी बीचको एकताले मुलुक बन्छ’ राउतले भने– ‘यदि नेपालीबीच धार्मिक वितृष्ण र विभेद भयो भने मुलुक आन्तरिक कलहमा रुमलिन्छ । कहिल्यै सबल बन्न सक्दैन ।’ मुलुकको समृद्धिका लागि बुद्धको शान्ति उपदेश महत्वपूर्ण रहेको बताउँदै उनले अहिंसाका प्रतिक भगवान गौतम बुद्धको मार्गमा हिँड्नुपर्ने खाँचो औंल्याए ।

सभासद् तथा नेपाली काँग्रेस कास्कीका सभापति यज्ञबहादुर थापाले हिंसाले आक्रान्त विश्वमा बुद्ध दर्शन फैलाउन जरुरी भएको बताए । उनले पोखरामा रहेका बौद्ध शान्ति स्तुप, माटेपानी गुम्बा, बौद्ध अर्घौं सदनले बुद्ध धर्मको प्रवद्र्धनका लागि राम्रो काम गरिरहेको भन्दै प्रशंसा पनि गरे । जनप्रतिनिधि भएको नाताले आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि थापाले जनाए ।

सनातन धर्म सेवा समिति पोखराका अध्यक्ष रविन्द्र माकाजुले सुखी मान्छे सुख चाहने र अर्काको दुःख चाहनेहरु नै दुःखी हुने गरेको बताउँदै गौतम बुद्धको शान्ति सन्देशलाई विश्वमाझ फैलाउनुपर्ने खाँचो औंल्याए । तमु धिं नेपालकी महासचिव मैना तमुले अहिले विभिन्न हिंसा, आतंकले विश्व नै फसिरहँदा बुद्धको उपदेशलाई सबैले पछ्याउन सके शान्ति मिल्ने बताईन् । उनले बलिप्रथा अत्य गर्नुपर्नेमा जोड दिईन् ।

तमु ह्युला छोज धिं गुरुङ राष्ट्रिय परिषद् पोखरा उपत्यका प्रमुख टेकबहादुर गुरुङले आफूहरुकै पहलमा तमु ल्होसारमा राष्ट्रिय बिदा घोषणा भएको जनाउँदै तमुहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका आयोजक बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका अध्यक्ष खेन्पो कर्मा छिरिङ टासी लामाले गौतम बुद्धको जन्मभूमि रहेर पनि राज्यले बौद्ध धर्मका लागि आवश्यक पहल गर्न नसकेकोमा गुनासो गर्दै आँखामा छारो हाल्ने तरिकाले भईरहेका गतिविधिप्रति असन्तुष्टि जनाए । ‘नेपालमा बुद्ध धर्मको प्रवद्र्धनका लागि हामीले अघि सारेका मागमा बाधा उत्पन्न भयो भने हामी चुप लागेर बस्ने अवस्था रहँदैन’ उनले भने– ‘लामाहरु राजनीति गर्न थाले भन्ने आरोप पनि लाग्दै आएको हो । तर हामी आफ्नो अधिकारका लागि अघि सरेका हौं । हाम्रो अधिकारका लागि तपाईंहरु राजनीति गरिदिनुहोस् न त ।’ उनले गुम्बा नै बन्द गरेर अनसन बस्नुपर्ने अवस्था नआओस् भन्दै राज्यलाई ध्यानाकर्षण पनि गराए ।

उनले सम्पूर्ण प्राणी हितको लागि बौद्ध धर्म रहेको भन्दै नेपालमै बुद्ध जन्मेकाले पनि नेपालको मौलिक धर्म बुद्ध भएको बताए । ‘आफ्ना कुल धर्म फरक हुन सक्छ । तर विश्वमाझ पहिचान दिने धर्म, मौलिक धर्म बुद्ध धर्म हो ।’ उनले भने ।

बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक नरेन्द्र कुमार गुरुङले केन्द्रिय कार्यक्रम अन्तर्गत भएको धर्मदेशना प्रवचन कार्यक्रममा श्रद्धेय धर्मगुरुको उपस्थिति निकै महत्वपूर्ण रहेको बताए । कार्यक्रममा बौद्ध अर्घौ सदनका अध्यक्ष क्या. भुवनसिंह गुरुङले स्वागत गरेका थिए भने बौद्ध अर्घौ सदनका प्रमुख लामा थुप्तेन ऐशे गुरुङ लामाले अष्टमंगल पाठ गरेका थिए । प्रमुख अतिथि श्रद्धेय धर्मगुरु  खेन्पो साङ्गे राङजुङ रिन्पोछेको विशेष आतिथ्यता रहेको कार्यक्रममा पहिलो दिन सदनका प्रमुख लामा थुप्तेन ऐशे गुरुङ लामाले गुम्बाको चिनारी, बुद्ध धर्मबारे प्रवचन दिए । कार्यक्रमको सञ्चालन लक्ष्मी रुम्बा तामाङले गरेकी थिईन् ।

दोस्रो तथा अन्तिम दिन आईतबार धर्मगुरु खेन्पो साङ्गे राङजुङ रिन्पोछेले अभिषेक (वाङ) प्रदान, धर्मदेशना, पुजा पाठ र ग्रहशान्ति लगायतका कार्यक्रम गरिने भएको छ । पोखरामै पहिलो पटक आइतवार बिहान एघार बजेदेखि कुबेर अभिषेक(वाङ)  प्रदान गरिने भएकाले लामा गुरुहरु, उपासक, उपासिका, तथा बौद्ध धर्ममा आस्थावानहरुलाई अभिषेकका लागि बौद्ध अर्घौ सदनले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: