काठमाडौं, पौष ७ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा आर्सनल र लिभरपुलले २–२ गोलको बराबरी खेलेका छन् । लिभरपुलको मैदान एन्फील्डमा भएको खेलमा घरेलु टोलीका मार्टिन स्कर्टलले इन्जुरी समयमा एक गोल गर्दै खेललाई बराबरीमा पुर्याएका हुन् ।
यसअघि लिभरपुलका फिलिप कौटिन्होले पहिलो गोल गरेका थिए । तर, आर्सनलका फ्रेन्च खेलाडीहरु म्याथ्यु डेबुची र ओलिभर जिरुले एक–एक गोल गरेपछि ९० मिनेटसम्म आर्सनलले २–१ को अग्रता लिएको थियो ।
इन्जुरी समयको सातौं मिनेटमा स्कर्टलले हेडिङमार्फत् बराबरी गोल गर्दै लिभरपुलको उद्धार गरेका हुन् ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको अर्को खेलमा सन्डरल्यान्डले न्युकासल युनाइटेडलाई १–० ले हराएको छ ।
प्रिमियर लिगमा १६ खेलबाट ३९ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ । एक खेल बढी खेलेको म्यान्चेस्टर सिटी समान अंकको साथ दोस्रो स्थानमा रहेको छ । चेल्सीले आज (सोमबार) स्टोक सिटीको सामना गर्नेछ ।

