सडक महोत्सवमा हेलिकोप्टरबाट दृश्यावलोकन

Share:

पोखरा, १२ पुस । रेष्टुराँ एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराले आयोजना गरेको ‘१६औं पोखरा सडक महोत्सव’का अवसरमा हेलिकोप्टरबाट पोखरा दृश्यावलोकनको व्यवस्था मिलाइएको छ । त्रिपल ए टुर्स एण्ड ट्राभल्स पोखराले सिम्रिक एयरको हेलिकोप्टरबाट पोखरा साइडसिनको व्यवस्था मिलाएको हो । सडक महोत्सव आइतबारदेखि पोखरामा हुँदैछ ।

Pokhara side seen

रेवानसँग सहकार्य गरेर साइडसिनको व्यवस्था मिलाइएको त्रिपल ए पोखराका प्रवन्ध निर्देशक कृष्ण गिरीले जानकारी दिए । पोखराको स्तरीय पर्यटनलाइ प्रवद्र्धन गर्न हेलिकोप्टरबाट गरिने दृश्यावलोकनले मद्दत गर्ने विश्वास गरिएको छ । पाँच दिनसम्म पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा महोत्सव सञ्चालन हुँदैछ । महोत्सवका अवसरमा साइडसिन गर्नका लागि करिव ५० जनाले हेलिकोप्टर बुकिङ गरिसकेको गिरीले जानकारी दिए ।

शान्तिस्तुपा, पञ्चासे, नौंडाँडा, धम्पुस, काहुँखोला, हेम्जा, मणिपाल, काहुँ, सराङ्कोट, फेवाताललगायत पोखराको दृश्यावलोकन हेलिकोप्टरबाट गर्न सकिने आयोजकको भनाइ छ । ३ हजार ९ सय ९९ सय रुपैयाँ तिरेपछि हेलिकोप्टरबाट सुन्दर नगरी पोखरा आकर्षक दृश्यावलोकन गर्न सकिने ट्राभल्सका म्यानेजर राजेन्धर भण्डारीले बताए । हेलिकोप्टरमा दृश्यावलोकन गर्नका लागि एक पटकमा ६ जना उड्न मिल्छ । ‘पर्यटकको चाहना अनुसारका उडान प्याकेज तयार गर्छौं,’ भण्डारीले भने । त्रिपल एले सडक महोत्सवमा वर्षेनी पोखरा साइडसिनको व्यवस्था गर्दै आएको छ । गत वर्षको महोत्सवमा ५ सय भन्दा बढीले साइडसिन गरेका थिए । यस वर्ष पनि ५ सय भन्दा बढीले हेलिकोप्टरबाट पोखरा साइडसिन गर्ने भण्डारीले बताए ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न यो अभियानले सहयोग पुग्ने रेवानका अध्यक्ष गोपी भट्टराईको भनाइ छ । ‘सडकमै खाउँ, सडकमै रमाऔं’ भन्ने नाराका साथ रेवानले प्रत्येक वर्ष सडक महोत्सवका आयोजना गर्ने गरेको छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भइसकेको अध्यक्ष भट्टराईले बताए । सडक महोत्सवको सफलता पोखराको प्रतिष्ठासँग जोडिएको हुँदा महोत्सव सफल पार्न आ–आफ्नो ठाउँबाट सवैले सहयोग गर्नुपर्ने उनले बताए । यस क्षेत्रको कला, सँस्कृति, भेषभुषाको जगेर्ना गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पोखरालाई चिनाउन महोत्सव सफल हुने उनको विश्वास छ ।

कमेन्ट गर्नुहोस्
Share: