
गोकुल बानियाँ, पोखरा, १३ पुस । पोखरा सडक महोत्सबको १६ औं संस्करण आजदेखि सुरु हुदैछ । पोखराको मुख्य पर्यटकिय क्षेत्र लेकसाईडमा ५ दिन सम्म चल्ने महोत्सबको भारतिय राजदुत रञ्जित रे ले उद्घाटन गर्ने कार्यक्रम छ ।
महोत्सब उद्घाटनको अबसरमा देशका बिभिन्न स्थानबाट आएका सास्कृतिक प्रस्तुती, बिभिन्न जातिको भेषभूषा सहितको ¥याली निस्कने आयोजक रेष्टुरेण्ट एण्ड वार एसोसिएसन ( रेवान ) पोखराले जनाएको छ ।
लेकसाईडको फिस्टेलगेट देखि खहरेसम्म तीन किलोमिटर क्षेत्रमा सडकमै रेष्टुरेण्टका स्टल राखिएको छ । महोत्सबको लागि पर्यटकिय क्षेत्र लेकसाईडलाई झकिझकाउ पारिएको छ । लेकसाईडको सडक ध्वजा पतकाले रंगिएको छ ।
‘सडकमै खाऔं, सकडमै नाचौं, सडकमैं रमाऔं’ भन्ने नारा सहित सञ्चालन हुने महोत्सबमा बसुन्धरा पार्क भित्र र बाहिर गरी झण्डै तीन सय स्टल रहनेछन् । महोत्सवमा पोखराका विभिन्न संघ संस्थाको झाँकी प्रदर्शन तथा प्रतियोगिता, पोखरा सेरोफेरोका विभिन्न जातिको संस्कृति प्रर्दशन, पोखरा भन्दा बाहिरका विभिन्न ठाउँका संस्कृतिको पनि प्रर्दशन गरिने जनाए । मुस्ताङ लोमानथाङको थकाली संस्कृति, बर्दियाको थारु संस्कृतिका साथ भारत गुजरातको संस्कृति पनि महोत्सवमा देख्न पाईने रेवान पोखराका अध्यक्ष गोपी बहादुर भट्टराईले जानकारी दिए ।
बसुन्धरा पार्क भित्र बाल उद्यान, दोहोरी गीत, हस्य व्यङ्ग प्रहसन, नृत्य प्रस्तुती, लाइभ कन्सर्ट, विदेशी व्याण्डको प्रस्तुतीको साथै साहसिक र मनोरञ्जनात्मक बृत्तचित्र, फोटो प्रर्दशन महोत्सबको आकर्षणको रुपमा रहेका छन् ।
महोत्सवको अवसरमा होटल तथा रेष्टुरेण्टमा विशेष छुटको व्यवस्था गरिएको संयोजक चौबहादुर गुरुङले बताए । छुट कार्यान्वयन गरे/नगरेको बारेमा अनुगमनको लागि समिति समेत गठन गरिएको छ । तोकिएको भन्दा बढि रकम लिएको पाइएमा कारवाही गरिने गुरुङले बताएका छन् । महोत्सबको कुनैपनि स्टलमा बढी मुल्य लिएको भेटिएमा खबर गर्न आयोजकले आग्रह समेत गरेको छ ।
महोत्सव अवधिभर पोखरामा रात्री बस सञ्चालन हुने भएको छ । नयाँ वर्षको दिन राती १ बजेसम्म र अन्य दिनमा राती ११ बजेसम्म दिउँसोको भाडादरमै सेवा दिने पोखरा बस ब्यबशायी समितिले जनाएको छ । महोत्सब अबधिभर आन्तरिक र विदेशी गरी झण्डै पाच लाख पर्यटक पोखरा भित्रने अनुमान गरिएको छ ।
