अझै अल्मलिँदै दलहरु, सहमति जुटाउन आजपनि छलफल

Share:

नवराज ढुङ्गाना
पोखरा, १३ पुस
संविधान निर्माणमा देखिएको विवाद समाधान गरी सहमति निर्माणका लागि मुख्य चार दलहरुबीच आज पनि छलफल हुँदैछ । हिजो र अस्ति लगातार बसेको बैठक संविधान निर्माणमा सहमति गर्न असफल भएपछि आजपनि बिहानैदेखि नेताहरु सहमति निर्माणका लागि भन्दै जुटेका छन् ।
सहमति निर्माणका लागि आज बिहान कांग्रेस र एमाओवादीबीच साइडलाइन वार्ता बस्दैछ भने मधेसवादी नेताहरुसँग एमाले नेताहरुले अनौपचारिक छलफल गर्ने तयारी गरेका छन् । त्यसपछि मात्र आज दिउँसो कार्यदलको बैठक बस्ने श्रोतले जनाएको छ ।
कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेका भिम रावल, एमाओवादीका कृष्णबहादुर महरा र मधेसी मोर्चाका लक्ष्मणलाल कर्ण सदस्य रहेको कार्यदलले हिजो दुई चरणमा वार्ता गरे पनि सहमति भएन ।
सहमति जुटाउन हिजो बिहान प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच वार्ता भएको थियो । त्यसैगरी एमालेका माधवकुमार नेपाल र एओवादीका डा. बाबुराम भट्टराईले पनि हिजो छलफल गरेका थिए ।
संविधानका अन्र्तवस्तुमा सहमति गर्ने हो भने प्याकेजमा गर्नुपर्ने धारणा कार्यदलमा आएको छ । यस्तो धारणा खासगरी मधेसी मोर्चाका लक्ष्मणलाल कर्णले राखेका बुझिएको छ । स्रोतका अनुसार मधेसी मोर्चाको तर्फबाट कार्यदलमा प्रतिनिधित्व गरेका कर्णले संविधान बनेपछिको ‘पावर सेयरिङ’ मा सहमति नभई संविधानका अन्र्तवस्तुमा सहमति हुन नसक्ने जानकारी कार्यदलमा गराएका छन् ।
चारदलीय कार्यदलले हिजोसम्ममा सहमति गरेर प्रतिवेदन तयार पार्ने भनिएको थियो । प्रधानमन्त्री र प्रचण्डबीच भएको वार्तामा कार्यदललाई अझै केही दिन समय दिने र कार्यदलले निष्कर्ष निकालेपछि मात्र शीर्ष नेतृत्वको सामूहिक बैठक बस्ने सहमति भएको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: