भोटले सोमपालले कुनै अवार्ड पाउँदैनन्, शक्तिलाई बेवास्ता गरियो, ब्लग हिट बनाउने प्रपञ्च

Share:

– सुफल काफ्ले

‘यूवा क्रिकेटर सोमपाल कामीलाई पिपुल्स प्लेयर अफ द इअर बनाउन यो लिंकमा क्लिक गरेर भोट गर्नुहोस’ भन्ने सन्देशसँगै एउटा लिंक पछिल्लो एक हप्तादेखि फेसबुक र ट्वीटरमा धेरै नै शेयर भएको छ । मैंले पनि यस्तै लिंक भेटपछि भोट गर्न भनेर क्लिक गरें । लिंक क्लिक गरेपछि म पुगें एक जना क्रिकेट प्रेमी तथा युवा क्रिकेटर मार्टिन जोन्सको व्यक्तिगत ब्लग द पपिङ क्रिजमा ।

वर्ष सन् २०१४ हामीबाट विदा हुनै लागेका कारण मार्टिन जोन्सले सन् २०१४ को पिपुल्स प्लेयर अफ द इअर छान्न भन्दै नेपाली क्रिकेटर सोमपाल कामी, शक्ति गौचनसहित एशोसिएट टिमका १० जना उदयमान क्रिकेटरको सूची बनाएका छन् । ‘तपाईको एशोसिएट प्लेयर अफ द इअर को हुन् ?’ भन्ने प्रश्नको उत्तरमा आफूलाई मन पर्ने खेलाडीलाई भोट दिन पाइने रहेछ ।

यस्ता पोल इन्टरनेटसाइट वा फेसबुकमै हामीले पनि सजिलै बनाउन सक्छौं । फेसबुक र ट्वीटरमा भेट्टाएको सोमपाल कामीलाई प्लेयर अफ द इअर बनाउनु भनेर शेयर गरिएको लिंक यस्तै पोलको रहेछ ।

popping creaseसोमपाल कामी वा शक्ति गौचनलाई भोट दिनुअघि मेरो आँखा त्यो सूचीसँगै रहेको लेखकको बारेमा भन्ने स्थानमा पर्‍यो । जहाँ मार्टिन जोन्सले आफ्नो बारेमा परिचय लेखेका छन् । आफ्नो परिचयमा उनले आफू एक किशोर क्रिकेटर भएको र खेलप्रति अत्याधिक रुची भएको बताएका छन् ।

त्यसपछि मैंले सोमपाल वा शक्तिलाई पपुलर प्लेयर अफ द इअर बनाउन कुनै भोट दिइन् । किनकी कुनै पनि एउटा व्यक्तिले आफ्नो व्यक्तिगत ब्लग वा साइटको प्रचार गर्न र त्यो साइटलाई हिट पार्न सोमपाल वा शक्तिको नाम प्रयोग गरेको छ भन्ने बुझ्न मलाई समय लागेन ।

पोहोर पनि यहि बेलामा यही ब्लगमा पपुलर प्लेयर अफ द इअरको पोल गरिएको थियो । जसमा नेपालका कप्तान पारस खड्का धेरै भोट ल्याएर पपुलर प्लेयर अफ द इअर बनेका थिए । तपाईं हामीले नै भोट गरेर खड्कालाई पपुलर प्लेयर अफ द इअर बनायौं तर खड्का भन्दा बढी पपुलर मार्टिन जोन्स र उनको ब्लग द पपिङ क्रिज भयो ।

त्यसैले मैंले भोट गर्नुको सट्टा प्लेयर अफ द इअर बनाउन भन्दै शेयर भएका लिंकमा यो व्यक्तिगत ब्लगलाई शेयर गरेर हिट नबनाउँ,  यो पपुलर प्लेयर अफ द इअरको कुनै महत्व छैन भनेर कमेन्ट लेख्न थालें । तर मेरो कमेन्ट र स्टाटसले त्यति धेरै ध्यान तानेन जति ध्यान भोट गरौं भन्दै शेयर भएका स्टाटस र पोष्टहरुले पाइरहेका थिए ।

तर आइतबार दिउँसो नेपाल क्रिकेट संघ क्यानको आधिकारिक फेसबुक र ट्वीटर (दुवै भेरिफाइड अकाउन्ट हुन् ।) बाट सोमपाल कामीलाई पपुलर प्लेयर अफ द इअर बनाउँ भन्दै यही लिंक शेयर भयो (तर पछि केहि समर्थकले यो आधिकारिक नभएको र किन सोमपाललाई मात्र भोट गरौं भनेको भन्दै कमेन्ट गरेपछि क्यानले फेसबुक र ट्वीटरबाट यसलाई हटाएको छ )।

त्यसो त कुनै सञ्चार माध्यम वा कुनै संघ संस्थालाई वर्ष व्यक्ति वा चर्चित व्यक्ति छान्ने गरेका पनि छन् । अमेरिकी पत्रिका टाइम म्यागजिनले हरेक वर्ष वर्षको शक्तिशाली वा चर्चित व्यक्ति भनेर छनौट गर्छ र अवार्ड पनि दिने गर्छ । नेपालकै कुरा गर्ने हो भने पनि नेपाल, हिमाललगायतका पत्र पत्रिकाले हरेक वर्ष वर्षका उत्कृष्ट भनेर छनौट गर्ने गर्छन् । यसको धेर थोर महत्व पनि छ ।

तर मार्टिन जोन्सले आफ्नो व्यक्तिगत ब्लगमा पपुलर प्लेयर अफ द इअर बनाउने भन्दै पोल गरेपनि त्यसलाई सर्वस्व नै हो भन्ने ठानेर क्यानजस्ता जिम्मेवार निकायका साथै नेपाली क्रिकेट समर्थक त्यसको पछि लाग्नु भनेको त कागले कान लग्यो भनेर कान नै छामी कागको पछि लाग्नु जस्तै भएन र ?

क्यानको आधिकारिक फेसबुक पेज र ट्वीटरका साथै थुप्रै नेपाली समर्थकले सोमपाललाई भोट गरौं भनेर लिंक शेयर गरेको देखेपछि मलाई हामीले कुनै पनि कुरा नबुझी फेसबुक, ट्वीटरजस्ता सोसल मिडियामा शेयर गर्दा रहेछौं भन्ने लागेको छ ।

किनकी यो पोल जुन आधिकारिक होइन र यसको कुनै महत्व पनि छैन । त्यो पोलको लिंक शेयर गर्दा हामीले के शेयर गरिरहेका छौं भन्ने कुरा ख्याल गरेनौं । साथी हामीले यो सूचीमा रहेका सोमपाल बाहेक शक्ति गौचनलाई देखेका पनि छैनौं ।

क्यान आफैंले पनि सोमपाललाई भोट गरौं भनेर लिंक शेयर गरेको छ । हुन सक्छ (मेरो अनुमान) क्यानको आधिकारिक फेसबुक र ट्वीटर चलाउने व्यक्तिले फेसबुक र ट्वीटरमा धेरैले सोमपाललाई भोट गरौं भनेको देखे र त्यसैको पछि लागे । अनि सोमपाललाई भोट गरौं भनेर लिंक शेयर गर्न भ्याए । उनले यही सूचीमा भएको शक्ति गौचनको नामलाई ख्याल नै गरेनन् ।

तर यो थाहा पाएपछि शक्ति गौचनको मन कस्तो हुन्छ–भयो होला ? त्यसतर्फ तपाईं हामीले कहिल्यै सोच्यौं ? के क्यान र नेपाली क्रिकेट समर्थकका लागि सोमपाल र शक्ति एउटै हातका दुईटा औंला होइनन् ?  त्यसैले फेसबुक र ट्वीटरमा कुनै पनि कुरा शेयर गर्दा एक पटक विचार गर्ने कि ।

कमेन्ट गर्नुहोस्
Share: