
रञ्जन अधिकारी पोखरा, १३ पुस / पोखराको लेकसाईड बाराहीचोक स्थित पार्कमा सडक चित्रकला प्रदर्शनी आईतबारदेखि सुरु भएको छ । १६ औं सडक महोत्सवका अवसरमा राखिएको प्रदर्शनी पुस १८ गतेसम्म चल्नेछ । नगेन आर्ट ग्यालरीको प्रस्तुतिमा रहेको छ दिने प्रदर्शनीमा डेढ दर्जन बढि कलाकारका चित्रहरु राखिएका छन् ।
सडक चित्रकला प्रदर्शनीको संविधानसभा सदस्य, संसदीय समितिका सभापति एवं नेकपा एमालेका केन्द्रिय सदस्य रविन्द्र अधिकारीले आफैंले पेन्ट गरी शुभारम्भ गरेका थिए । सभासद् अधिकारीले प्रविधिले सिर्जनालाई केहिल्यै पन्छाउन नसक्ने भन्दै जतिसुकै महंगा क्यामेराले फोटो कैद गरेपनि कलाकारको चित्रको तुलनामा कमै हुने बताए । ‘कलाकारले चित्रमार्फत प्रस्तुत गर्ने सन्देश महत्वपूर्ण हुन्छ । श्रम, सीप र सिर्जनाले गर्दा कलाको मूल्य धेरै छ ’ उनले भने– ‘कला सभ्यताको परिचय पनि हो । चित्र मार्फत संस्कृति चिनाउन सकिन्छ ।’
विशेष अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष एवं आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बास्तोलाले हरेक महोत्सवका अवसरमा सडकमै चित्रहरु राखेर प्रदर्शन गर्नु सबैका लागि शुभ अवसर भएको बताउँदै कलाकारको मेहनतलाई सबैले बुझ्नुपर्ने धारणा राखे । बास्तोलाले भने– ‘निःशुल्क रुपमा मन्त्रमुग्ध पार्ने चित्रहरु सडकमै राखिएका छन् । कलाकारले मुटु निचोरेर रगतले बनाएका जस्ता लाग्ने यी चित्रहरु यसरी सार्वजनिक स्थानमा पाउनु पनि सबैका लागि खुशीको कुरा हो ।’ कला बेचेर बिदेशी रकम भित्राएका स्वरोजगार कलाकारलाई हेर्ने नजर समेत सकारात्मक हुनुपर्नेमा जोड दिँदै बास्तोलाले कलाकै कारण अन्तर्राष्ट्रिय स्तरमा यहाँको प्रकृति र संस्कृति फैलाउन सहयोग पुग्ने बताए ।
अग्रज कलाकार यादवचन्द्र भुर्तेलले सडक महोत्सवको सुरुवातीकालदेखि नै आफूले सडकमा चित्रहरुको प्रदर्शन गर्ने गरेको जानकारी दिँदै आफ्नो चेला नगेन सिंह अहिले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ बन्नु खुशीको कुरा रहेको र उनकै सक्रियतामा यो पटक यसरी प्रदर्शनी हुँदा आफू गौरवान्वित भएको बताए । उनले कलाकार कहिले नमर्ने भन्दै रेवान पोखराले पनि प्रचारप्रसार नगरेकोमा गुनासो गरे ।
बाराही टोल विकास संस्थाका अध्यक्ष सीता पहारीले धेरै युवाहरु विदेशीने क्रम बढिरहँदा केहि युवाहरु आफ्नो सीप र दक्षता प्रयोग गर्दै यसरी देशलाई चिनाउने काम गर्दा आफू हर्षित भएको बताईन् ।
नगेन आर्ट ग्यालरी लेकसाईड शाखा डाईरेक्टर केवी शाहीको अध्यक्षतामा भएको कार्यक्रममा कलाकार वाई.सी. भुर्तेलले स्वागत तथा पोखरा वाटर कलर सोसाईटीका अध्यक्ष सूर्य बराईलीले कार्यक्रमको सञ्चालन गरेका थिए ।
कलाकारहरु वाई.सी भुर्तेल, थमन सुनुवार, सूर्य बराईली, रक्षा गुरुङ, लक्ष्मण परियार, डोञ्जन ठकुरी, शान्तकुमार श्रेष्ठ, गोपाल दराई, उमद पौडेल, विश्व केसी, सरीता हमाल, ज्योति हमाल, गोपी श्रेष्ठ, केदार पालिखे, प्राज्ञ नगेन सिंहका साथै ज्योति प्रकाश लगायतका मनमोहक चित्रहरु राखिएका छन् । सडक महोत्सव अवधिभर डेढ लाख बढिले चित्र अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
