
चितवन, पौष १४ । चितवनको सौराहामा जारी ११औं हात्ती महोत्सवअन्तर्गत सोमबार भएको हात्ती सुन्दरी प्रतियोगिताको फाइनलमा दुई हात्तीलाई पछि पार्दै युनाइटेड हात्ती सहकारी संस्थाकी पिंकीकली प्रथम भएकी छन् ।
निर्णायकको मन जित्दै उनले उपाधिमाथि कब्जा जमाएकी हुन् । निकै आकर्षक देखिएको पिंकीकलीलाई हेर्न चौरको चारैतिर दर्शकहरु भरिभराउ थिए । दोस्रो स्थानमा क्याटवाक गर्दै आफ्नो प्रस्तुति देखाउन आएकी पिंकीकलीलाई दर्शकले मात्र नभइ निर्णायकले नै मन पराएपछि उनी तेस्रो संस्करणको सुन्दरी प्रतियोगिताको उपाधिमा आफ्नो नाम लेखाउन सफल भइन् ।
प्रतियोगिताका निर्णायक विनोद तिमिल्सिनाले उनको शारिरीक बनावट, अनुशासन र श्रृंगारमा उत्कृष्ट देखिएकाले उपाधि चुम्न सफल भएको बताए ।
यस्तै, प्रतियोगितामा पुष्पकली द्धितीय र राष्ट्रिय प्रकृति संरक्षण कोष एवं जैविक विविधता केन्द्रकी प्रकृतिकली तृतीय भए ।
प्रतियोगितामा पाँचओटा हात्तीले प्रतिस्पर्धा गरेका थिए ।
Imagekhabar.com

