सभासद शीर्ष नेताहरुको भूमिकाको आलोचना ‘सभासद हुँ भन्न पनि लाज लाग्न थाल्यो’

Share:

काठमाडौं, पौष १४ / संविधानसभाको सोमबार बसेको वैठकमा सभासदहरुले सविधान निर्माणका विषयमा शीर्ष नेताहरुको भूमिकाको आलोचना गरेका छन् । उनीहरुले आफूहरुसँग जनतालाई दिने जवाफ नभएको भन्दै देशलाई निकास दिनेतर्फ गम्भीर हुनुपर्ने समय आएको बताए ।  सभासदहरु्ले संविधान नबने आफूहरु नालायक र कलंकित हुने भन्दै शीर्ष नेताले शीघ्र सहमति गर्नुपर्ने अन्यथा सभाले प्रक्रियाबाट निर्णय गर्न पाउनुपर्ने माग गरे ।

सो क्रममा उनीहरुले संविधान दिन नसके आफूहरू नालायक र कलङ्कित सावित हुनेतर्फ सभाध्यक्षको ध्यानाकर्षण समेत गराएका थिए । बैठकमा आफ्नो धारणा राख्दै नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेले दोस्रो संविधानसभाको निर्वाचन गर्नुपूर्व निर्वाचनको परिणामलाई परवाह नगरी एक वर्षभित्र संविधान ल्याउने प्रतिबद्धता गरिएको सन्दर्भ उल्लेख गर्दै बचन एउटा गरेर अर्का प्रकारको काम गरिएकाले सहमतिमा गाँठो परेको धारणा राखे ।

नेपाली काँग्रेसका अर्जुनप्रसाद जोशीले शीर्ष नेताहरुले बन्द कोठामा बसेर गर्ने सहमति आफूहरुले मान्नैपर्छ भन्ने नरहेको जनाउँदै समय धेरै बाँकी नरहेकाले अब जनतामाझ लोगो लगाएर हिँड्न पनि गाह्रो भइसकेको गुनासो गरे । जोशीले ‘संविधान निर्माणको कार्य अघि बढ्न नसक्दा संविधानसभाको सदस्य हुँ भन्न पनि लाज लाग्न थालेको’ बताए ।

एकीकृत माओवादीका राम कार्कीले संविधान जारी गर्दा कहिँ कतै हिंसा निम्तिने स्थान छाड्न नहुने धारणा राखे । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सभासद विक्रम पाण्डेले सबै विषयमा सहमति सम्भव नहुने बताए ।

कमेन्ट गर्नुहोस्
Share: