‘पिके’ बन्यो बलिउडकै सर्वाधिक कमाउने फिल्म

Share:

मुम्बई– आमिर खान र अनुष्का शर्मा अभिनित फिल्म ‘पिके’ बलिउडमा सर्वाधिक कमाउने चलचित्र बनेको छ। १९ डिसेम्बरमा रिलिज भएको यो फिल्मले १५ दिन अर्थात् शुक्रबारसम्ममा २ सय ८५ करोड ५६ लाख भारतीय रुपैयाँ कमाइ गरिसकेको छ।

यसअघिसम्म बलिउडमा सर्वाधिक कमाई गर्ने फिल्म आमिरकै ‘धुम थ्री’ थियो। सन् २०१३ को क्रिसमसअगाडि रिलिज भएको यो फिल्मले २ सय ८४ करोड २७ लाख भारु कमाएको थियो। सिनेमाघरहरूमा अझै पनि दर्शकहरूको चाप देखिएकाले ‘पिके’ चाँडै तीन सय करोडको आँकडा छुने अनुमान गरिएको छ।

बक्स अफिसमा आमिर खानले रेकर्ड बनाउँदै तोड्दै गरेका छन्। उनकै फिल्म ‘गजनी’ले सबभन्दा पहिला सय करोडको रेकर्ड बनाएको थियो। दुई सय करोडको आँकडा छुने पहिलो फिल्म पनि उनकै ‘थ्री इडियट्स’ थियो। अब तीन सय करोड क्लबमा प्रवेश गर्ने पहिलो फिल्मको रेकर्ड पनि उनकै नाममा हुने भएको छ।

बलिउडमा सर्वाधिक कमाइ गर्ने पाँच चलचित्र

१. पिके – २ सय ८५ करोड ५६ लाख भारु (शुक्रबारसम्ममा)
२. धुम थ्री – २ सय ८४ करोड २६ लाख
३. क्रिस ३ – २ सय ४४ करोड ९२ लाख
४. किक – २ सय ३१ करोड ८५ लाख
५. चेन्नई एक्सप्रेस – २ सय २७ करोड १३ लाख

कमेन्ट गर्नुहोस्
Share: