लामाचौरमा सुरक्षा व्यवस्थापन भवन

Share:

रञ्जन अधिकारी पोखरा, १९ पुस /पोखरा उपमहानगरपालिका वडा नं. १९ अन्तर्गत लामाचौरका स्थानीयले शान्तिसुरक्षाका सवालमा सक्रियता देखाउँदै सुरक्षा व्यवस्थापन भवन निर्माण गरेका छन् । नव आदर्श सामुदायिक विकास समाज र स्थानीय जनसमुदायको सहयोगमा लामाचौर ठुलीपोखरीमा निर्माण गरिएको सुरक्षा व्यवस्थापन भवनको शनिबार एक कार्यक्रमका बीच क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रहरी नायव महानिरिक्षक बमबहादुर भण्डारीले समुद्घाटन गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि डिआईजी भण्डारीले जनसमुदाय स्तरबाटै भएको यो काम निकै सराहनीय भएको बताए । उनले शान्ति सुरक्षाको जिम्मेवारी लिएका प्रहरी संगठनलाई नै प्रत्यक्ष लाभ मिल्ने गरी सम्पन्न यो कार्यप्रति आभार व्यक्त गरे । ‘स्थानीय क्षेत्रको शान्ति सुरक्षामा चिन्तित रहँदै पब्लिक आफै सक्रिय भएर यस्तो महत्वपूर्ण कार्य सम्पन्न गरेकोमा धन्यवाद दिन चाहन्छु’– डिआईजी भण्डारीले भने– ‘यहाँको शान्ति सुरक्षा थप मजबुत बनाउन लागिपर्नेछौं । हामी सहयोग गर्न तयार छौं ।’

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक केदारमानसिंह भण्डारी र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक बसन्तकुमार लामाले सुरक्षा भवन निर्माणले सुरक्षाकर्मीलाई आवासको व्यवस्था भएकाले स्थानीय स्तरमा शान्ति, सुरक्षा, अमनचयन कायम राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा संघसंस्थाको तर्फबाट अल्फा बोर्डिङ स्कूलका अध्यक्ष तथा लामाचौर खेलकूद मैदान कोषका संयोजक सुरेन्द्रमानसिंह भण्डारीले पनि बोलेका थिए ।

DSC05555-300x220
लामाचौर गाविस पोखरा उपमहानगरपालिकामा गाभिएपछि अहिले बनेको १९ नम्बर वडामा पनि वडा प्रहरी कार्यालय स्थापना गर्नुपर्ने स्थानीयको माग छ । वि.सं. २०६९ साल फागुनमा शिलान्यास गरिएको भवन सम्पन्न गर्न २३ लाख लागत लागेको भवन निर्माण समिति तथा सुरक्षा व्यवस्थापन समितिका संयोजक नवराज थापाले जानकारी दिए । नवनिर्मित ५ कोठे सुरक्षा भवनमा ठूलो हल, सुरक्षा समिति कार्यालय, पूर्व प्रहरी र स्थानीय समितिको कार्यालय रहनेछन् । नविन भण्डारीले आफ्नो आमाको स्मृतिमा एउटा कोठा निर्माण गरेका हुन् । सार्वजनिक जग्गामा निर्मित सो भवनमा प्रहरीको आवास सुविधा पनि छ । स्थानीयले ३ रोपनी जग्गा उपलब्ध गराएको खण्डमा स्थानीयकै मागबमोजिम वडा प्रहरी कार्यालय स्थापना गर्न प्रक्रिया अघि बढाउन सकिने संयोजक थापाले जानकारी दिए । लामाचौर क्षेत्रमा २०६७ सालदेखि नै सिआरभी प्रहरी सेवा सक्रिय छ ।

कमेन्ट गर्नुहोस्
Share: