
रञ्जन अधिकारी पोखरा, २३ पुस / पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका क्षेत्र समेटिएको पोखरा उपत्यकाको वृहत्तर विकासका लागि पहल सुरु भएको छ । पोखरेलीले वर्षौ अघिदेखि चाहेको वृहत्तर पोखराको गुरुयोजना निर्माण गर्न डा. कृष्ण केसीको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिले ६ महिनाभित्र विगतमा सम्पन्न विभिन्न योजना तथा अध्ययनहरुलाई एकीकृत गरेर वृहत्तर पोखराको अवधारणा अनुसार भूउपयोग अवधारणालाई सहित समेट्दै पोखरा उपत्यका गुरुयोजना निर्माण गर्ने क्षेत्रीय प्रशासक दिनेश थपलियाले जानकारी दिए ।
क्षेत्रीय प्रशासन कार्यालयको सक्रियतामा बुधबार पोखरामा आयोजित सरोकारवालाबीचको वृहत छलफल कार्यक्रममा क्षेत्रीय प्रशासक थपलियाले अघि सारेको १० योजनाका साथै दुई योजना थप गर्दै यसलाई सम्पन्न गर्न संयोजक र उपसंयोजक समेत तोकेको छ । पोखरा चक्रपथ, अन्तर्राष्ट्रिय सभासम्मेलन स्थल, राष्ट्रिय बस टर्मिनल केन्द्र, अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, चिडियाखाना, पोखरा भ्यु टावर, राष्ट्रिय कला तथा साहित्य पार्क, पोखरा डोमेस्टिक मार्केट, पोखरा सम्पदा संरक्षण क्षेत्र, फेवा म्युजिकल फाउण्डेशन लगायतका योजनाहरु अघि सारिएका हुन् ।
थपलियाका अनुसार पोखरालाई आधुनिक पर्यटकीय शहरका रुपमा अघि बढाउनका लागि १२ योजनाका लागि निश्चित कार्ययोजना सहित जिम्मेवारी दिएर अघि बढ्ने प्रक्रिया प्रारम्भ भएको हो । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र सुविधासम्पन्न बसपार्क योजनासँगै पोखरालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको शहर स्थापित अन्य योजनाहरु पनि सँगै अघि बढाउनुपर्ने आवश्यकता बोध गर्दै अब ढिलाई गर्न नहुने उनको भनाई थियो ।
वर्षौदेखिको योजना पोखरा चक्रपथका लागि विश्वप्रकाश लामिछानेलाई संयोजकको जिम्मेवारी दिईएको छ । पोखरामै अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्नका लागि एउटा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्न पर्ने भएकाले यसको संयोजन गर्ने जिम्मा पोउवा संघका निवर्तमान अध्यक्ष सञ्जीब बहादुर कोईरालालाई दिईएको छ । नगर विकास प्रशिक्षण केन्द्र भएको स्थानमा केन्द्र स्थापना गर्नुपर्ने अधिकांशको सुझाव छ ।
लेखनाथमा रहने गरी सुविधासम्पन्न राष्ट्रिय बस टर्मिनल केन्द्रका लागि लेखनाथ उवासंघका अध्यक्ष बाबुराम गिरीलाई संयोजक तोकिएको छ भने शान्ति बनबाटिका बोटानिकल गार्डेन बन्न नसकिरहेको सन्दर्भमा वातावरण मैत्री शहरको रुपमा निर्माण गर्न गणेश बहादुर भट्टराईलार्य बोटानिकल गार्डेन निर्माणका लागि संयोजकको जिम्मा प्रदान गरिएको छ ।
पोखरामा चिडियाखाना बनाउनुपर्ने भन्दै अग्रसर पोखरा युनाईटेड क्लबका अध्यक्ष हिमालय बख्रेललाई यसको जिम्मेवारी दिईएको छ भने पोखरा भ्यु टावरका लागि पोखरा पर्यटन परिषद्का सूर्य बहादुर भुजेललाई संयोजक तोकिएको छ ।
यस्तै, अन्तर्राष्ट्रिष्य स्तरमा उँचो बन्दै गएको क्रिकेट खेलको विकास र उपयुक्त स्थान पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम निर्माण गर्न पोउवास संघका पूर्व अध्यक्ष अशोक पालिखे, कला साहित्यमा योगदान दिनेहरुको पनि पहिचान हुने उद्देश्यका साथ राष्ट्रिय कला तथा साहित्य पार्क निर्माणका लागि प्राज्ञ तीर्थ श्रेष्ठ, पर्यटकीय शहरमा स्वदेशी उत्पादनको निश्चित बजार हुनु जरुरी रहेको कुरालाई हृदयंगम गर्दै पोखरालाई कोशेली घरको रुपमा स्थापित गर्न पोखरा डोमेस्टिक मार्केटको अवधारणालाई सार्थकता दिन पोउवासंघका अध्यक्ष बिन्दु कुमार थापालाई संयोजकको जिम्मेवारी दिईएको छ ।
पोखराका सम्पदा क्षेत्र व्यवस्थापन गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत फैलाउनुपर्ने भएकाले पोखरा सम्पदा संरक्षण क्षेत्रका लागि नागरिक समाज पोखरा अध्यक्ष रामबहादुर पौडेल, फेवातालको संरक्षण र प्रवद्र्धनका लागि फेवा म्युजिकल फाउण्डेशन खोल्न रेवान पोखराका अध्यक्ष गोपी बहादुर भट्टराईलाई संयोजक तोकिएिको छ । नागरिक समाज, निजी तथा गैरसरकारी क्षेत्रको नेतृत्व रहँदा सम्बन्धित सरकारी निकाय उपसंयोजक रहने छन् ।
संयोजक तथा उपसंयोजकले ३ दिनभित्र समितिलाई पूर्ण रुप दिने र त्यसपछि ७ दिन भित्र के के गर्नुपर्ने हो त्यस सम्बन्धमा टोलीले कार्ययोजना तयार गरिसक्नुपर्ने छ भने त्यसलाई आधिकारीक स्वीकृति क्षेत्रीय प्रशासनले दिने थपलियाले बताए । ‘योजना सम्पन्न गर्न २ वर्षदेखि १० वर्ष वा बढि समयसम्म पनि लाग्ने छन् ।’ थपलियाले भने– ‘अब पनि गम्भीरताका साथ अघि बढिएन भने पोखरा झनै बिग्रदैँ कुरुप हुँदै जान्छ । क्रमशः काम गर्दै जाने, बनाउँदै जाने हो ।’
छलफलमा गैसस महासंघ पोखराका गोपाल खड्का, पोउवा संघका अध्यक्ष विन्दु कुमार थापा, महिला तथा बालबालिका कार्यालय प्रमुख लक्ष्मी जिसी कार्की, प्राज्ञ तीर्थ श्रेष्ठ, डा. कृष्ण केसी लगायतले सुझाव राखेका थिए । यसअघि, पोखरा उपत्यकाको दीर्घकालीन विकासको गुरुयोजना अघि सार्दै शहरी विकास मन्त्रालयले २० वर्षमा २० अर्ब लगानी गर्न सक्ने गरी तयार रहेको जनाईसकेको छ ।

