
पुस २४ गते-
फ्रान्सको पत्रिका चार्ली हेब्डोको कार्यालयमा आक्रमण गर्ने एक १८ वर्षे युवकले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । हम्याद मौराद नामका व्यक्तिले बुधबार स्थानीय समय अनुसार ११ बजे प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । उनको नाम सामाजिक सञ्जालहरुबाट फैलिरहेको देखेपछि उनले आत्मसमर्पण गरेका समाचार संस्था एपीले जनाएको छ ।
फ्रान्सेली प्रहरीले घटनामा संलग्न शंकास्पद तीनजनाको पहिचान गरेको छ । प्रहरीले पहिचान गरेका अरु दुई जनामा ३२ वर्षका चेरिफ कौवाची र ३४ वर्षका उनका दाई सइद कौवाची रहेका छन् । फ्रान्सेली प्रहरीले यी दुवै दाजुभाईको फोटो पनि सार्वजनिक गरेको छ ।
चेरिफ कौवाची आतंकवादी समूहसँगको संबन्धको आरोपमा सन् २००५ मा पक्राउ परेका थिए । पछि उनी इराक गएर इस्लामिक स्टेटसँग आवद्ध भएका थिए । फ्रान्सेली सञ्चार माध्यमहरुका अनुसार सन् २००८ मा उनलाई १८ महिनाको जेल सजाय सुनाइएको थियो ।
बुधबार फ्रान्सको व्यंग्यात्मक पत्रिका चार्ली हेब्डोमा भएको आक्रमणमा ८ जना पत्रकार, दुई जना प्रहरी सहित १२ जनाको मृत्यु भएको थियो । फ्रान्सका राष्ट्रपति फ्रान्सो होल्यान्डले बिहीबार राष्ट्रिय शोकको घोषणा गरेका छन् ।
उनले अभिव्यक्ति स्वतन्त्रताको फ्रान्सेली संस्कारमाथिकै आक्रमण भएको भन्दै यसविरुद्ध एक भई उभिन सबै फ्रान्सेली नागरिकलाई अपिल गरेका छन् ।
