मनाङ मर्स्याङदीको सहज जित

Share:

२६ पुष पोखरा / मनाङ मर्स्याङदी क्लब पोखरामा जारी मनकामना केवलकार पोखरा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको खेलमा मनाङ मर्स्याङदीले सरस्वती यूथलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गर्यो। मनाङको तर्फबाट अनिल गुरुङले दुई तथा लिओन्स डोडोज र दीपक राईले एक–एक गोल गरेका थिए। सरस्वतीका तर्फबाट एकमात्र गोल शक्ति राईले गरे।

MMC

खेलको सुरुवातदेखि नै सरस्वतीलाई दवावमा राखेको मनाङ मर्स्याङदीका तर्फबाट खेलको १२ मिनेटमा सुजल श्रेष्ठले क्रसमा अनिलले हेड गरेका थिए। तर, सरस्वतीका गोलरक्षक अशोक बरालबाट रिबाउन्ड भएको बल ६ याडईभित्रैबाट पुनः अनिलले प्रहार गर्दा गोलमा परिणत भयो। दोस्रो गोल मनाङका विदेशी खेलाडी डोडोजले गरे। खेलको २० मिनेटमा अनिल गुरुङले दिएको पासलाई डी बक्सलाइनबाट डोडोजले प्रहार गर्दा बलले जाली चुम्यो। मनाङ मर्स्याङदीको तर्फबाट तेस्रो गोल पनि अनिल गुरुङले नै गर्न सफल भए। ५८ मिनेटमा सुशील केसीले दिएको क्रसमा अनिलले करिब ६ यार्डबाट प्रहार गर्दा गोल भएको थियो। तेश्रो गोल हुँदा अनिलको व्यक्तिगत दुई गोल भएको थियो। शनिबारको खेलमा अनिल नै म्यान अफ दी म्याच भए।

मनाङ मर्स्याङदीको तर्फबाट चौथो गोल दिपक राईले गरे। खेलको ८० मिनेटमा शिव श्रेष्ठले प्रहार गरेको बल सरस्वतीका गोलरक्षक बरालबाट रिवाउन्ड भएपछि दिपकले सदुपयोग गर्दै गोलमा परिणत गरेर विजय सुनिश्चित गरेका थिए। विजयी भएको मनाङ मर्स्याङदीले अब आईतबार हुने नेपाल पुलिस र आर्मीको खेलको बिजेतासँग खेल्नेछ।

मनाङ मर्स्याङदीको दुई गोलले पछि परेको अवस्थामा खेलको ३४ मिनेटमा सरस्वती यूथका तर्फबाट शक्ति राईले गोल गरेका थिए। राजकुमार घिसिङको सट्टा ६ मिनेट अघिमात्र मैदान छिरेका राईले कृष्ण शाक्यको छोटोपासमा डीबक्स बाहिरबाट हानेको बल सिधै गोलपोष्टमा पुगेको थियो।

सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले सेटटिमसँग भिड्नुपर्दा दवाव खेप्नुपरेको प्रतिक्रिया दिए। ‘हाम्रा राम्रो खेल्ने खेलाडी घाईते छन। त्यसले पनि समस्या भएको हो’ उनले भने, ‘मनाङ मर्स्याङदी सेट टिम भएको र उसको लामो अभ्यासले पनि हामीलाई दवाव भएको हो।’

मनाङ मर्स्याङदीका प्रशिक्षक नवीन न्यौपानेले दुई गोलले अग्रता लिएको बेला खेलाडीले केहि सहज ठानेपछि विपक्षीले गोल फर्काउने अवसर पाएको प्रतिक्रिया दिए। ‘दुई गोलले अग्रता लिएपछि हाम्रा खेलाडीले सहज ठाने। अग्रता लिएपछि अरुलाई कमजोर ठान्ने नेपाली खेलाडीको कमजोरी नै हो’ उनले भने, ‘त्यहि हेलचेक्राईका कारण विपक्षीले एक गोल फर्काउने मौका पाए।’

आईतबार नेपाल पुलिस र आर्मीबिच खेल हुनेछ।

कमेन्ट गर्नुहोस्
Share: